दाङ— लुम्बिनी प्रदेशसभाकी सांसद गीता गुरुङले मंगलबार पदबाट राजीनामा दिएकी छन्। सीके राउत नेतृत्वको जनमत पार्टीबाट समानुपातिक प्रणालीमार्फत प्रदेशसभा सदस्य बनेकी गुरुङले लुम्बिनी प्रदेशसभाका सभामुखसमक्ष राजीनामा पत्र बुझाएकी हुन्।
राजीनामा पत्रमा उनले देश र जनताको पीरमर्का आफूले राम्ररी बुझेको उल्लेख गर्दै राष्ट्र र जनताभन्दा माथि केही नहुने आफ्नो अडान प्रस्ट्याएकी छन्। उनले लेखेकी छन्, ‘आदरणीय जनताको सेवा गर्ने उद्देश्यले राजनीतिमा प्रवेश गरेकी हुँ, तर अहिले मेरो कार्यक्षमताप्रति आशा राखिरहेका स्वाभिमानी जनताका सपना म पूरा गर्न असमर्थ छु भन्ने गहिरो अनुभूति भएको छ।’
जनताले तिरेको करबाट सुविधा लिन आफूसँग नैतिक आधार नरहेको भन्दै उनले मंगलबारकै मितिबाट राजीनामा लागू हुने जनाएकी छन्। राजीनामा दिएलगत्तै गुरुङले मोबाइल फोन बन्द गरेकी छन्।
जनमत पार्टी र गुरुङबीच लामो समयदेखि असहमति रहेको बताइएको छ। संसदीय दलका नेता चन्द्रकेश गुप्ताले गुरुङ सभामुखलाई राजीनामा बुझाएको कुरा आफूले सुनेको तर पार्टीलाई भने जानकारी नदिएको बताए।