काठमाडौं— चितवनमा विभिन्न यातायात कम्पनीका ८० जना कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ । कम्पनीका कर्मचारीले यात्रुका झोला तान्ने, अनावश्यक दुःख हैरानी दिएको भन्दै प्रहरीले उनीहरुले पक्राउ गरेको हो ।
स्विप अप्रेसन अन्तर्गत जिल्लाका विभिन्न स्थानबाट जिल्ला प्रहरी कार्यालय चितवन र जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवन ले उनीहरुलाई पक्राउ गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक रविन्द्र खनालका अनुसार परिचयपत्र साथमा नलिई यात्रुहरूलाई अनावश्यक दुःख हैरानी दिने, झोला तान्ने लगायतका गतिविधिहरू गरी यातायातका विभिन्न नियम उल्लङ्घन गरेको एवम् चोरी, लागुऔषध सेवन गरी विभिन्न घटनामा आबद्ध हुन सक्ने सम्भावनालाई दृष्टिगत गरी उनीहरुलाई नियन्त्रणमा लिइएको हो ।
पक्राउ परेका व्यक्तिहरुलाई कानुनी तथा ट्राफिक नियम सम्बन्धि सचेतना प्रदान गरेपछि परिवारको जिम्मा लगाएर छाडिएको छ । प्रहरीले भरतपुरको चौविसकोठीबाट ४३ जना, बालकुमारी चौरबाट १५ जना, टाँडीबाट ११ जना, भण्डाराबाट चार जना, गितानगरबाट तीन जना र देवघाट र चनौलीबाट २/२ जनालाई पक्राउ गरेको हो ।






































