एजेन्शी  ।  भारत–पाकिस्तानबीच युद्धविरामको सहमति भएको केही घण्टामै पाकिस्तानले सहमति उल्लंघन गर्दै आ'क्रम'ण सुरु गरेको छ। जम्मु, श्रीनगर, राजस्थानलगायतका सीमावर्ती क्षेत्रमा ड्रोन आ'क्रम'ण, वि'स्फोट र हवाई आ'क्रम'ण गरिएका छन्।

भारतले यस्ता गतिविधिलाई गम्भीर रूपमा लिँदै सीमा क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाएको छ र केही संवेदनशील स्थानमा ब्ल्याकआउटसमेत गरिएको छ। दुवै देशबीचको तनाव फेरि चुलिँदै गएको छ, जसले क्षेत्रीय शान्तिमा गम्भीर चुनौती खडा गरेको छ। अब अन्तर्राष्ट्रिय समुदायको ध्यान पनि यसतर्फ खिचिएको छ।

पाकिस्तानले तीन घण्टा नबित्दै युद्धविराम सम्झौताको उल्लङ्घन गरेको आरोप भारतले लगाएको छ । भारतीय विदेश सचिव विक्रम मिश्रीले राति ११ बजे पत्रकार सम्मेलन गरी सो प्रतिक्रिया दिएका हुन् । 

पत्रकार सम्मेलनमा उनले भने- ‘पाकिस्तानले पछिल्ला केही घण्टादेखि युद्धविराम सम्झौताको उल्लङ्घन गरिरहेको छ। भारतीय सेनाले आक्रमणको जवाफ दिइरहेको छ र त्यसको सामना गरिरहेको छ। यो आक्रमण अत्यन्तै निन्दनीय छ । यसको लागि पाकिस्तान जिम्मेवार छ।’

पाकिस्तानले भारतीय सीमामा प्रवेश गर्न चाहेको समेत मिश्रीले बताए । उनले आफूहरूले पनि भारतीय सेनालाई आक्रमणका लागि स्वतन्त्रता दिएको बताएका छन् ।

"हामी विश्वास गर्छौँ कि पाकिस्तानले परिस्थितिलाई स्पष्ट रूपमा बुझ्नुपर्छ र यो आक्रमण रोक्न तुरुन्तै र उपयुक्त कदम चाल्नुपर्छ" उनले भने । विदेश सचिव मिश्रीले भारतीय सेनाले परिस्थितिमाथि नजिकबाट निगरानी गरिरहेको समेत बताए ।  उनले सेनालाई कुनै पनि आक्रमणको सामना गर्न ठोस र कडा कारबाही गर्न आदेश दिइएको समेत बताएका छन् ।

भारत र पाकिस्तानबिच शनिबार साँझ ५ बजे युद्धविराम गर्ने सहमति भएको थियो । त्यसको तीन घण्टापछि राति ८ बजे पाकिस्तानले जम्मू कश्मीर, राजस्थान, पञ्जाब र गुजरातमा गोलाबारी र ड्रोन आक्रमण गरेको भारतीय सञ्चारमाध्यामहरुले जनाएका छन् ।