काठमाडौं— राजसंस्था पुनर्स्थापना र सनातन हिन्दु धर्मका लागि भन्दै जनआन्दोलन घोषणा भएको छ । बिहीबार राजधानीमा आयोजित पत्रकार सम्मेलन गर्दै जनआन्दोलन घोषणा गरेको हो ।

राजसंस्था पुनर्स्थापनका लागि गठित समितिका संयोजक नवराज सुवेदीले पत्रकार सम्मेलन गर्दै जेठ १५ गतेबाट अनिश्चितकालीन जनआन्दोलन घोषणा गरेको बताए ।

 ‘जेठ १५ गतेदेखि अनिश्चितकालीन जनआन्दोलन गर्ने हामी घोषणा गर्दछौं,’ सुवेदीले पत्रकार सम्मेलनमार्फत् भनेका छन्, ‘हाम्रो आन्दोलन शान्तिपूर्ण हुनेछ । भद्र अवज्ञा र सत्याग्रह हाम्रो आन्दोलनको स्वरुप हुनेछ ।’

आफूहरूको आन्दोलन व्यवस्था परिवर्तनका लागि भएको भन्दै कुनै पनि सरकार वा सत्तामा रहेका दलहरूको विरोध नगर्ने उनले घोषणा गरे ।

घोषणासभामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन, राप्रपा नेपालका अध्यक्ष कमल थापा, पञ्चायतकालीन नेता केशरबहादुर विष्ट लगायत उपस्थित छन् ।