प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो मृगौला (किड्नी) फेल हुनुको वास्तविक कारण सामान्य लापरवाही नभई कठोर जेल जीवन र अत्यधिक पेनकिलर प्रयोग भएको बताएका छन्। काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले पहिलोपटक सार्वजनिक रूपमा यसबारे स्पष्ट पारेका हुन्।


ओलीका अनुसार उनको किड्नी बिग्रनु लापरवाहीका कारण थिएन। "डेढ महिना सुत्न मात्र राखियो, खाना दिइएन," उनले पीडा पोख्दै भने। चिसो गोलघरभित्र तल्लो भागबाट पानी आउँथ्यो, जसले स्वास्थ्य झन् बिग्रँदै गयो।


जेलमा उनलाई नेलहतकडी लगाइन्थ्यो, जसले गर्दा शरीरमा घाउ भएर पनि उपचार नपाएको उनले खुलाए। “धन्न फलामको नेलबाट टिटानस भएन,” भन्दै उनले पीडाको गहिरो स्मरण गरे।


दिनको ७५ पैसा मात्रै सरकारबाट दिइन्थ्यो, जसबाट दाल, तरकारी, साबुन, ब्रस सबै जोहो गर्नुपर्थ्यो। सस्तो ब्रस दुई दिनमै बिग्रिन्थ्यो र दाँत सफा गर्नसमेत सकिँदैनथ्यो।


जेलमै उनलाई ट्युबरक्लोसिस (टीबी) र अल्सर जस्ता रोगले समातेको थियो। औषधि र पौष्टिक आहारको अभावले स्वास्थ्य अवस्था झनै नाजुक बन्यो।


“भोक, घाउ र असह्य पीडाका कारण बारम्बार पेनकिलर खानुपर्‍यो,” उनले भने। पेनकिलरको अत्यधिक सेवनले अन्ततः किड्नी फेल गराएको उनी बताउँछन्। "त्यतिबेला बाँच्न पेनकिलर खाइयो, आज त्यसको नतिजा भोग्दैछु।"