काठमाडौं— वडाध्यक्षले प्रशासन शाखा प्रमुखमाथि हातपात गरेपछि पोखरा महानगरपालिकाका कर्मचारीले सेवा ठप्प पारेका छन् । वडा नम्बर ४ का अध्यक्ष देवकृष्ण पराजुलीले मङ्गलवार प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा प्रशासन महाशाखा प्रमुख ईश्वरीप्रसाद पोख्रेललाई हातपात गरेका हुन् ।
महानगरपालिकाका कर्मचारीलाई तालिममा पठाउँदा सल्लाह नगरेको भन्दै आफूमाथि हातपात गरेको प्रशासन शाखा प्रमुख पोख्रेलले बताए । प्रशासकीय अधिकृतको कार्यकक्षमा पुग्ने बित्तिकै वडाध्यक्षले अपशब्द बोल्दै हातपात गरेको उनको आरोप छ । वडाध्यक्षले उक्त समयमा मादक पदार्थसमेत सेवन गरेको पोख्रेलको दाबी छ ।
उक्त घटनाका विषयमा कर्मचारी सम्बद्ध ४ संगठनले मङ्गलवार मेयर र प्रमुख प्रशासकीय अधिकृतलाई २४ घन्टे अल्टिमेटमसहित ज्ञापन पत्र बुझाएका थिए ।
स्थानीय तह कर्मचारी युनियन, स्थानीय तह कर्मचारी संघ, नेपाल राष्ट्रिय कर्मचारी संगठन र एकीकृत सरकारी कर्मचारी संगठनले संयुक्त रूपमा ध्यानाकर्षण बुझाउँदै कर्मचारीमाथि हातपात गर्ने वडाध्यक्षलाई कारबाही गर्न माग गरेको छ । तर, २४ घण्टासम्म पनि कुनै सुनुवाइ नभएको भन्दै कर्मचारीले महानगरको सेवा ठप्प पारेका हुन् ।
स्थानीय तह कर्मचारी संघका रेशम जिसीले कर्मचारीको सुरक्षाको ग्यारेन्टीको माग गर्दै आन्दोलनको कार्यक्रम गरिएको बताए । उनले बुधबार (आज) पनि सुनुवाइ नभए थप आन्दोलन गरेर अगाडि बढ्ने चेतावनी दिए ।