काठमाडौं — नेकपा (एमाले) का नेता तथा प्रतिनिधि सभा सदस्य सूर्यबहादुर थापा क्षेत्रीले माओवादी केन्द्रसँग पुनः कुनै पनि हालतमा गठबन्धन नबन्ने दाबी गरेका छन्। एउटा कार्यक्रकमा  कुरा गर्दै उनले तीव्र रुपमा भने, “सूर्य पश्चिमबाट उदाए पनि माओवादीसँगको गठबन्धन असम्भव छ।”

क्षेत्रीले अहिलेको सरकारलाई अस्थिर बनाउन प्रचण्ड नेतृत्वको प्रयास अस्वीकार्य रहेको स्पष्ट पारे। “सरकार तासको पत्ताजस्तो फेरिरहने काम भयो भने देश झन् अस्थिरतामा जान्छ,” उनले चेतावनी दिए।

उनले माओवादी अध्यक्ष प्रचण्डमाथि कटाक्ष गर्दै भने, “प्रचण्डजी अघोरी बाबा बन्न खोज्न आवश्यक छैन। काँधमा राखेर सत्तामा पुर्‍याएका एमाले–कांग्रेसको योगदान बिर्सेर सरकार मात्र ढाल्ने सोच अनुचित हो।”

क्षेत्रीले सानातिना दलहरूको भरमा सरकार ढाल्ने सपना अब देख्न नहुने बताए। प्रचण्डप्रति व्यंग्य गर्दै उनले भने, “जति घाँस खुवाए पनि किलो हानिरहने भैंसीजस्तो व्यवहार गर्नु हुँदैन। स्थिरता चाहिएको हो, चञ्चलता होइन।”

उनको दाबी अनुसार अहिले कांग्रेस–एमालेबीच नीति तथा कार्यक्रमबारे स्पष्ट समझदारी बनिसकेको छ, र छलफल अगाडि बढिरहेको छ।