काठमाडौं— ललितपुरको सातदोबाटो–हात्तीवन ओरालोमा कार बिजुलीको पोलमा ठोक्किएर तीन जना घाइते भएका छन् । घाइते हुनेहरुमा म्याग्दी घर भएका ४० वर्षीय अमरध्वज पौडेल, ललितपुर गोदावरीका ३२ वर्षीय विशाल वि.क र सोही ठाउँका २९ वर्षीय मोसेफ लामिछाने छन् ।
घाइतेहरुको पाटन अस्पतालमा उपचार भइरहेको प्रहरी परिसर ललितपुरका एसएसपी श्यामकृष्ण अधिकारीले जानकारी दिए । उनका अनुसार विशालको अवस्था गम्भीर रहेकोमा आईसीयूमा उपचार भइरहेको छ ।
ललितपुर प्रहरीका अनुसार राति ११ बजेतिर ललितपुर महानगरपालिका–२८ हात्तीवनमा बा १५ च ७६५२ नम्बरको कार बिजुलीको पोलमा ठोक्किएको थियो । कारको अगाडिको भाग क्षतिग्रस्त भएको छ । तीव्र गतिमा रहेको कार आफैं अनियन्त्रित भई दुर्घटना भएको प्रहरीको अनुमान छ ।
११ हजार भोल्टको करेन्ट प्रवाह हुने बिजुलीको तार टाँगिएको पोल नै सडकको बीच भागमा रहेकाले सवारी आवागमन बन्द गरिएको हो । कारको ठक्करबाट बिजुलीको पोल भाँचिएर बीच सडकमा पुगेपछि त्यस क्षेत्रको यातायात आवागमन बन्द गरिएको छ ।




































