काठमाडौ— भारतको उडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)मा नेपाली छात्राहरूको शृङ्खलाबद्ध मृत्युप्रति राष्ट्रिय सभामा गम्भीर चासो व्यक्त गरिएको छ । आज बैठकको आकस्मिक र शून्य समयमा बोल्दै सांसदहरूले केआईआईटी अध्ययन गर्न जान चाहने विद्यार्थीहरूलाई नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) नदिन सरकारलाई आग्रह गरेका हुन् ।

सांसदहरूले किटमा अध्ययनरत नेपाली छात्रा प्रकृति लम्सालको मृत्युपश्चात सरकारले स्पष्ट छानबिन र जवाफ नदिएको आरोप लगाउँदै सो विश्वविद्यालयका लागि एनओसी दिने प्रक्रिया तत्काल रोक्न सरकारको ध्यानाकर्षण गराएका हुन् । राष्ट्रिय जनमोर्चाका सांसद तुलप्रसाद विश्वकर्माले किटमा बारम्बार नेपाली विद्यार्थीमाथि घटना हुँदा पनि सरकार मौन रहेको बताए । 

“यसरी घटनाहरू दोहोरिनु नेपालप्रतिको दुर्व्यवहार हो,” उनले भने, “अब उक्त कलेजलाई एनओसी दिनुहुन्न ।” त्यस्तै सांसद मदनकुमारी साहले समेत सो विश्वविद्यालयमा जान चाहने विद्यार्थीहरूलाई एनओसी दिन नहुने बताउँदै अभिभावकहरूलाई सचेत रहन अनुरोध गरेकी छिन् । उनले लम्सालको मृत्यु आत्महत्या नभई संस्थागत समस्या भएको दाबी गर्दै भनिन्, “जहाँ सुरक्षा छैन, त्यहाँ एनओसी दिनु हुँदैन । सरकारले स्पष्ट जवाफ दिनुपर्छ ।”

सांसद गंगा कुमारी बेलबासेले यसअघि मृत्यु भएकी प्रकृति लम्सालको पनि अहिलेसम्म छानबिन प्रतिवेदन नआएको भन्दै गृहमन्त्री समक्ष रिपोर्ट माग गरिन् । सांसद सुमित्रा बीसीले उमेर र शैक्षिक अवस्था हेरेर मात्र एनओसी दिने प्रणालीमा सुधार गर्नुपर्ने धारणा राखेकी छिन् ।

हाल किटमा अध्ययनरत नेपाली विद्यार्थीको सङ्ख्या करिब १२०० रहेको बताइएको छ । सांसदहरूले सो कलेजमा नेपाली विद्यार्थीहरूको सुरक्षाको प्रत्याभूति नभएकाले अब त्यसतर्फ सरकारले गम्भीर कदम चाल्नुपर्ने बताएका छन् ।