काठमाडौं— हेटौंडाबाट काठमाडौं जाने कान्ति लोकपथ अविरल वर्षाका कारण अवरुद्ध भएको छ। वर्षाका कारण बागमती नदीमा बाढी आउँदा कान्ति लोकपथअन्तर्गत मकवानपुरको भिमफेदी गाउँपालिका–८ र ललितपुरको बागमती गाउँपालिका–२ को सिमानामा रहेको बागमती खोला डाइभर्सन बगाउँदा सडक पूर्णरूपमा अवरुद्ध भएको मकवानपुर जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
डाइभर्सन बगाएपछि आइतबारबिहान ६ः०० बजेदेखि नै सवारी साधनको आवतजावत अवरुद्ध भएको प्रहरीले जनाएको छ । अहिले प्रहरी टोली घटनास्थलमा खटिएको छ र अवरुद्ध सडक खुलाउने प्रयास जारी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए।