काठमाडौं— भारतको उडिसास्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा अध्ययनरत नेपाली छात्रा प्रिसा साहको निधनप्रति परराष्ट्रमन्त्री आर्जु राणाले दुःख व्यक्त गरेकी छन्।

परराष्ट्र मन्त्रालयले घटनालगत्तै हिजो नै भारत सरकार, उडिसा सरकारका उच्च अधिकारीहरु र दिल्लीस्थित नेपाली दूतावासमार्फत घटनाको सत्य तथ्य छानविन गर्न कूटनीतिक पहल थालेकोसमेत उनले बताएकी छन् ।

बिहीबार साँझ कम्युटर साइन्समा प्रथम वर्ष अध्ययनरत नेपाली विद्यार्थी साह मृत फेला परेकी हुन्।

प्रिसा वीरगञ्जनिवासी हुन्। उनी होस्टलमै मृत फेला परेको र अहिले प्रहरीले छानबिन गरिरहेको त्यही अध्ययनरत अर्का एक नेपाली विद्यार्थीले जानकारी दिए। उनी इन्टरनेसनल होस्टलमा बसिरहेकी थिइन्।

गत ४ फागुनमा केआईआईटीमा अध्ययनरत २० वर्षीया नेपाली विद्यार्थी प्रकृति लम्साल होस्टलमा मृत फेला परेकी थिइन्।

‘भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत नेपाली छात्रा प्रिसा साह आफ्नै होस्टेल कोठामा मृत भेटिएको घटनाले निकै मर्माहित बनाएको छ। प्रिसाको आत्माको चिर शान्तिको कामना गर्दै यस दुखद घडीमा उनको परिवाजनमा गहिरो समवेदना व्यक्त गर्दछु,’सो घटनाबारे परराष्ट्रमन्त्री राणा सामाजिक सञ्जालमा लेख्छिन्,’परराष्ट्र मन्त्रालयले घटना लगत्तै हिजो नै भारत सरकार, ओडिसा सरकारका उच्च अधिकारीहरु र दिल्लीस्थित नेपाली दूतावास मार्फत घटनाको सत्य तथ्य छानविन गर्न कूटनीतिक पहल थालेको छ।’