एजेन्शी  ।  भारतको कोलकाता सहरको ऋतुराज होटलमा मङ्गलबार भीषण आगलागी हुँदा कम्तीमा १५ जनाको मृत्यु भएको भारतिय प्रहरीले बताएको छ ।

आगलागी भएको होटलमा केही मानिस बच्नका लागि झ्यालबाट बाहिर र छतमा चढेर निस्किएका थिए ।होटलको कोठा र छतबाट धेरै मानिसलाई उद्धार गरिएको थियो।

दुई बालबालिका र एक महिलासहित मृतकको सङ्ख्या १५ पुगेको छ। होटल ग्यास च्याम्बरमा परिणत भएर धेरै मानिसको निस्सासिएर मृत्यु भएको देखिन्छ ।आगलागीको कारण पत्ता लगाउन अनुसन्धान भैरहेको छ।  आगलागी हुँदा ८८ जना पाहुना रहेको ऋतुराज होटल कोलकाताको केन्द्रीय भागको व्यापारिक क्षेत्रमा अवस्थित छ ।

भारतमा अग्नि नियन्त्रण उपकरणको अभाव र सुरक्षा नियमहरूको नियमित उपेक्षाका कारण भवनमा आगलागी हुने घटनाहरू सामान्य छन् । कोलकाताको भवनबाट आगोको ज्वालाहरूको भिडियो फिल्म खिचेको प्रेस ट्रस्ट अफ इन्डियाले ‘धेरै मानिस भवनको झ्याल र साँघुरो किनारबाट भाग्ने प्रयास गरिरहेको देखिएको थियो’ भनी रिपोर्ट गरेको छ ।

प्रधानमन्त्री नरेन्द्र मोदीले मृतकका परिवारहरूप्रति समवेदना प्रकट गरेका छन् ।