काठमाण्डौ । नागरिक उन्मुक्ति पार्टीका संस्थापक तथा संरक्षक रेशमलाल चौधरी पक्राउ परेका छन्।
उनी आज बुधबार नेपाल प्रज्ञा प्रतिष्ठानबाट पक्राउ परेका हुन्। प्रज्ञा प्रतिष्ठानमा नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीबीच एकताको तयारी भइरहेकाबेला चौधरी पक्राउ परेका हुन्। उनलाई पक्राउ गर्न सादा पोशाकका प्रहरी प्रज्ञा भवनमा पुगेका थिए ।
हाल चौधरीलाई डिल्लीबजार कारागारमा राखिएको जनमतका अध्यक्ष सीके राउतले बताएका छन्। ‘पार्टी एकीकरण प्रज्ञा प्रतिष्ठानमा घोषणा हुन लाग्दै रेशमलाल चौधरीलाई नेपाल प्रहरीले कार्यक्रमस्थलमा नै पक्राउ गरेर पुरानो फैसला कार्यान्वय गर्नका लागि डिल्ली बजार जेल पठाएको खबर प्राप्त भएको छ। यसको हामी घोर भर्त्सना गर्दछौं। यस कारणले आजको एकीकरण कार्यक्रम स्थगित गरिएको छ र सम्पूर्ण नेता कार्यकर्ताहरूलाई आ-आफ्नो घर जान आग्रह गरिएको छ। बैठक बसेर अर्को सूचना हामी शीघ्र दिनेछौं,’ राउतले सामाजिक सञ्जालमा लेखेका छन्।
२०७२ भदौमा भएको टीकापुर नरसंहारको आरोपमा चौधरीले जन्मकैदको सजाय पाएका थिए। चौधरिलाई नेपाल सरकारको सिफारिसमा तत्कालिन राष्ट्रपति विद्या भण्डारीले २०८० सालको गणतन्त्र दिवसका दिन आममाफी दिएकी थिइन्। आममाफी पाएपछि उनी जेठ १५ मा डिल्लीबजार कारागारबाट संविधानको धारा २७६ र मुलुकी फौजदारी कार्यविधि संहिताको दफा १५९ अनुसार रिहा भएका थिए।
काठमाडौं प्रहरी परिसरका प्रवक्ता अपिलराज बोहराका अनुसार, "चौधरिलाई फैसला कार्यान्वयनका लागि पक्राउ गरिएको हो । सर्वोच्च अदालतको आदेश कार्यान्वयन गर्नलाइ नियन्त्रणमा लिएर डिल्लीबजार कारागार लगेको हो ।" आममाफीविरुद्ध सर्वोच्चमा रिट परेको थियो ।
चौधरि रिहा भएपछि भोलिपल्टै टीकापुर घटनामा ज्यान गुमाएका प्रहरी इन्स्पेक्टर केशव बोहोराकी पत्नी शारदा कडायतले उनको रिहाइविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन्।