काठमाडौं— प्रहरीले शिष्ट र मर्यादित व्यवहार गर्नुपर्ने गरी प्रचलित ऐन संशोधन हुने भएको छ । सरकारले केही नेपाल ऐन संशोधन विधेयकमार्फत प्रहरी ऐन २०१२ मा संशोधन गर्न लागेको हो । यस निम्ति सरकारले ल्याएको विधेयक प्रतिनिधि सभाबाट पारित भएको छ ।
प्रतिनिधि सभाबाट पारित भएको केही नेपाल ऐन संशोधन विधेयकले प्रहरी ऐन २०१२ को दफा १५ र दफा ३६ मा संशोधन गरेको छ । दफा १५ मा संशोधन गर्दै प्रहरीले सेवाग्राही र सबैसँग शिष्ट र मर्यादित व्यवहार गर्नुपर्ने भनिएको छ । दफा ३६ मा प्रहरी विशेष अदालतको स्थापना र गठन सम्बन्धी व्यवस्था छ ।
दफा ३६ को (ख) मा प्रहरी नायव निरीक्षकदेखि प्रहरी नायव उपरीक्षक सम्मको लागि क्षेत्रीय प्रहरी विशेष अदालत गठन हुने व्यवस्था छ । यसलाई बदलेर नयाँ विधेयकले क्षेत्रीय भन्ने शब्दको सट्टा प्रदेश भन्ने शब्द राखेको छ । अर्थात, प्रहरी विशेष अदालत प्रदेश स्तरमा स्थापना हुने गरी ऐन संशोधन भएको हो । यस्तो अदालत प्रदेश अन्तर्गत नरहेर संघीय संरचना अन्तर्गत नै रहनेछ ।
केही नेपाल ऐन संशोधन विधेयक अघिल्लो सरकारको पालामा तत्कालीन कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले ल्याएका थिए ।
२६ वैशाख २०८० मा यो विधेयक प्रतिनिधि सभामा दर्ता भएको थियो । दफावार छलफलका लागि प्रतिनिधि सभाले विषयगत समितिमा २९ भदौ २०८० मा पठाइएको थियो । समितिबाट पास भएर सभामा १४ वैशाख २०८१ मा पुगेको थियो । मंगलबार सभाले पारित गरेको छ ।
अब यो विधेयक राष्ट्रिय सभामा जान्छ । राष्ट्रिय सभाले पारित गरेपछि पुनः प्रतिनिधि सभामा आउँछ । सभामुख हुँदै राष्ट्रपतिकहाँ पुग्छ । राष्ट्रपतिले प्रमाणीकरण गरेपछि ऐनको रुपमा कार्यान्वयनमा आउनेछ ।