काठमाडौं— प्रतिनिधि सभा बैठक आज पनि बस्दै छ । प्रतिनिधि सभा बैठक नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सोमबार बिहान ११ बजे बस्नेछ ।
आज सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा अन्तर्गतको विषयगत समितिहरुमा सदस्यहरुको नाम हेरफेर गर्ने बैठकको सम्भावित कार्यसूचीमा उल्लेख छ ।

त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले ‘नेपालको संविधानको धारा ५३ एवं सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४१ बमोजिमको नेपाल सरकारको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७९/८० र २०८०/८१’ पेस गर्ने कार्यसूची रहेको छ ।
प्रतिनिधि सभा बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ माथी विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने छन् ।
त्यस्तै, आजको बैठकमा शिक्षामन्त्री रघुजी पन्तले ‘शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८१ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।