काठमाडौं— काठमाडौं महानगरपालिकाले तत्कालीन काठमाडौं नगर पञ्चायतका उपप्रधानपञ्च तीर्थराम डंगोलको निधनमा आइतबार शोक बिदा दिएको छ। शनिबार प्रशासन विभागले सूचना जारी गर्दै आइतबार शोक बिदा दिने जानकारी दिएको हो।
उनको शुक्रबार राति दिन निधन भएको थियो। उनको निधनमा महानगरपालिकाले गहिरो दुःख र परिवारमा समवेदना प्रकट गरेको छ ।

विसं २००४ साल माघ २९ गते जन्मिएका डंगोल लामो समयदेखि पिसाब थैलीको क्यान्सरसँग जुधिरहेका थिए। उनको उपचारमा सम्लग्न स्वास्थ्यकर्मीका अनुसार मिर्गौलामा एकैपटक समस्या बढेर डाइलाइसिस गराउनु परेको थियो।
काठमाडौं पञ्चायतका लागि २०४३ सालमा भएको निर्वाचनमा उनले प्रजातन्त्रबादीका तर्फबाट उम्मेदवारी दिएर विजय हासिल गरेका थिए।
उपप्रधानपञ्चका रुपमा उनले सहर निर्माण, सहरी व्यवस्थापन र प्रवर्द्धन तथा सामाजिक सेवामार्फत रुपान्तरणमा पुर्याएको योगदानको सम्मान गर्दै महानगरपालिकाले शोक बिदा दिएको हो।
यस दिन अत्यावश्यक सेवाबाहेक महानगरपालिका र मातहतका कार्यालयहरुमा शोक बिदा रहनेछ। नेपाली कांग्रेसका नेतासमेत रहेका उनी राज्यमन्त्री पनि बनेका थिए।
स्वर्गीय डंगोलको पार्थिव सरीरमा महानगरपालिकाका उपप्रमुख सुनिता डंगोल, प्रवक्ता नविन मानन्धर, विषयगत समितिका संयोजक तथा जनप्रतिनिधिहरुले पुष्पगुच्छा अर्पण गरेका थिए।