काठमाडौं— काठमाडौँबाट झापा आइरहेको यात्रुबाहक रात्रिबस शनिबार बिहान ५ः३० बजे झापाको शिवसताक्षी नगरपालिका–९ स्थित पूर्वपश्चिम राजमार्गको दूधे खण्डमा दुर्घटना भएको छ । दुर्घटना परी १६ जना शिक्षकहरु घाइते भएका छन् ।
प्रदेश १–०१–००१–ख४२ नम्बरको बस दुर्घटना हुँदा १६ जना यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक मिलनकुमार केसीले जानकारी दिए । घाइतेको विर्तामोडस्थित विर्तासिटी हस्पिटल र बिएन्डसी हस्पिटलमा उपचार भइरहेको उनले बताए ।

दुर्घटनामा काठमाडौँमा जारी शिक्षक आन्दोलनबाट घर फर्किरहेका १६ जना शिक्षक घाइते भएको घाइतेमध्येका शिक्षक लीलाप्रसाद भण्डारीले जानकारी दिए । जसमध्ये शिक्षक गोपाल खतिवडाको अवस्था चिन्ताजनक रहेको छ ।
बस अनियन्त्रित भई दुर्घटना भएको र बसका चालक महेन्द्र कन्दङ्वालाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक केसीले जानकारी दिए । घटनालगत्तै झिलझिले इलाका प्रहरी कार्यालय टोली घटनास्थलमा पुगेको समेत उनले बताए ।