काठमाडौं— डोटीमा जंगली जनावरको सिकार खेल्न गएका बेला अर्का व्यक्तिले बोकेको भरूवा बन्दुक पड्किंदा एक युवकको मृत्यु भएको छ ।

बडिकेदार गाउँपालिका—१ को बर्छैन जंगलमा सिकार खेल्न गएका बेला बिहीबार दिउँसो भरूवा बन्दुक पड्किएर गोली लाग्दा सोही गाउँपालिका—२ बस्ने २४ वर्षीय नरेश सार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बडिकेदार गाउँपालिका—१ रजेडा बस्ने ४८ वर्षीय कमलसिंह खड्काले बोकेको भरुवा बन्दुकको बट रुखमा ठोक्किंदा बन्दुक पड्किएर सार्कीको छातीमा गोली लागेको डोटीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) विनोद शर्माले जानकारी दिए ।

दाँया छातीमा गोली लागेका सार्कीको घटनास्थलमा मृत्यु भएको उनले बताए । घटनाको अनुसन्धानका लागि प्रहरीले १० जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बडिकेदार गाउँपालिकां—१ बेडुपाटा खोलाको किनारमा रहेका बन्दुक बोक्ने ४८ वर्षीय कमलसिंह खड्का,२६ वर्षका खेम खड्का, ५२ वर्षका तारासिंह खड्का रहेका छन् ।

यस्तै, ३९ वर्षका तेजेन्द्र भाट, ४० वर्षका अमर शाह, ३१ वर्षका चक्र भाट, १८ वर्षका सुनिल बम, ३७ वर्षका गणेशबहादुर घर्ती मगर, ७१ वर्षीय मानबहादुर शाह र २६ वर्षीय  जुलेश नामजाली मगर रहेको एसपी शर्माले बताए ।