काठमाडौं— उपत्यकालगायतका मलुकका विभिन्न स्थानमा वर्षा भएको छ । कोशी र बागमती प्रदेशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान माहाशाखाका मौसमविद् मीनकुमार अर्यालले बताए ।
उनकाअनुसार पश्चिमी वायुको प्रभाव र हाल स्थानीय वायु सक्रिय भएका कारण मेघ गर्जनसहित वर्षा सुरु भएको हो । ‘अहिले सुरु भएको दुई घण्टासम्म रहने अनुमान छ, ठूलो वर्षा हुने सम्भावना छैन’, उनले भने, ‘बिहीबारसम्म मौसम बदली रही हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ।’

उनले बुधबार बिहानसम्म कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरू र बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताए । ‘यो प्रि मनसुन प्रणाली सक्रिय भएको संकेत हो। अब विस्तारै मनसुन प्रणाली सक्रियन हुँदै जानेछ।’ उनले भने ।
देशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको उनको भनाइ छ ।