काठमाडौं— पेप्सीकोलाबाट ६० लाख रुपैयाँ लुट्ने समूहलाई प्रहरीले डाँकाचोरी मुद्दामा अनुसन्धान थालेको छ । चैत २७ मा एउटा समूहले काठमाडौं–३२  स्थित मनहरा टाउन प्लानिङमा काठमाडौंको बौद्ध घर भएका ४२ वर्षीय रितेश लामालाई लुटपाट गरेका थियो । 

लुटमा संलग्न १८ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले जानकारी  दिए । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–३२ स्थित छाप्रो (पेप्सीकोला नजिकै) घर भएर तार्केश्वर बस्ने २३ वर्षीय राज पराजुली, रामेछापको खाँडादेवी–४ घर भएका २३ वर्षीय प्रभास केसी, खाँडादेवी–८ घर भएर गोठाटार बस्ने २० वर्षीय राजेश भण्डारी, खाँडादेवी–४ घर भएका २८ वर्षीय सार्की माझी र सोलुखुम्बु घर भएर कोटेश्वर बस्ने २६ वर्षीय कुशल बस्नेत छन् ।

OM Sai Pathibhara Hospital

त्यस्तै लुटमा संलग्न आरोपमा काभ्रेको रोशी घर भएका ३५ वर्षीय रञ्जित लामा, काठमाडौँ–३२ घर भएका २१ वर्षीय सुयोज लामा, रामेछापको दोरम्बा गाउँपालिका–४ घर भएका राजु मगर, रमेश बहादुर मगर, रुपक थापा मगर, सागर मगर, काभ्रेको नमोबुद्ध घर भएका ३३ वर्षीय दावा लामा, काभ्रेको रोशी गाउँपालिका घर भएका बाबु तामाङ, काभ्रेको मण्डन देउपुर घर भएका २६ वर्षीय सुजन लामा र सिन्धुपाल्चोकको बाह्रबिसे घर भएका ३६ वर्षीय रिबेल कुमार तामाङ छन् ।

साँझ ८ बजे नवराज खनाल भन्ने व्यक्तिले जग्गा बैना गर्ने भनेर बोलाएर आफूलाई लुटपाट गरेर रितेश लामाले प्रहरीलाई बताएका छन् ।

आरोपीहविरुद्ध डाँकाचोरी मुद्दामा अदालतबाट सात दिनको म्याद लिएर अनुसन्धान भइरहेको एसपी बोहराले जानकारी दिए ।