काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदनको सुनुवाइ सकिएको छ । आइतबार न्यायाधीश टेकप्रसाद ढुङ्गानाको एकल इजलासमा सुनुवाइ सकिएको हो ।
मुद्दामा आदेश आइतबार (आज) नै आउने बताइएको छ । लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने उच्च अदालतको आदेशविरुद्ध सर्वोच्च अदालतमा चैत २९ गते रिट दर्ता भएको थियो ।

सुप्रिम बचत तथा ऋण सहकारी ठगी प्रकरणमा अघिल्लो शुक्रबार उच्च अदालत तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको थियो ।
उक्त आदेशपछि उनलाई सोही रात बुढानीलकण्ठबाट पक्राउ गरी काठमाडौं प्रहरी परिसरमा राखिएको थियो ।
लामिछानेलाई एक दिन काठमाडौं र दुई दिन रुपन्देहीमा हिरासतमा राखेर सोमबार कारागार चलान गरिएको थियो ।