काठमाडौं— हनुमान जयन्तीको शोभायात्रा निकाल्ने क्रममा दुई समूहबीच झडप हुँदा अशान्त बनेको पर्साको वीरगंजमा कर्फ्यू जारी छ। झडप अनियन्त्रित भएपछि जिल्ला प्रशासन कार्यालयले साँझ साढे ६ बजेदेखि आज मध्यान्ह १२ बजेसम्म कर्फ्यू लगाएको थियो। पूर्व भेडियाही चौक, पश्चिम सिर्सिया पुल, दक्षिण शंकराचार्य गेट र उत्तरतर्फ गण्डक चौकमा आवत जावत गर्न, कुनै पनि प्रकारको भेला, सभा, बैठक, घेराउ गर्न निषेध गरिएको छ।
अहिले अवस्था सामान्य रहेको र कर्फ्यू हटाउनेबारे सर्वदलीय र सर्वपक्षीय छलफल चलिरहेको प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिए।
हिजो साँझ पाँच बजेतिर शोभायात्रामा निस्केको समूहमाथि वीरगन्जको श्रीराम हलस्थित जामा मस्जिदबाट एक्कासी ढुंगा प्रहार गरेकोले दुवै पक्षबीच झडप सिर्जना भएको थियो। झडप नियन्त्रण गर्न प्रहरीले दुई राउण्ड हवाई फायर र १ सय ३० राउण्ड अश्रुग्यास प्रहार गरिएको थियो।
प्रहरी र स्थानीय गरी ४० जना घाइते भएका छन्। घाइतेहरूरुको वीरगन्जको नारायणी अस्पताल र अन्य अस्पतालमा उपचार भइरहेको प्रमुख जिल्ला अधिकारी अर्यालले बताए।






































