काठमाण्डौ  ।  पूर्व पश्चिम राजमार्ग अन्तरगतको नारायणगढ–बुटवल सडक सुचारु भएको छ ।

नवलपरासी(बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका–१ दुम्कीवासमा रहेको विनयी खोलामा आएको बाढीले डाइभर्सन बगाएपछि शनिवार बिहान देखि पूर्ण रूपमा अवरुद्ध भएको सडक शनिबार राति नौ बजे देखि सञ्चालनमा आएको हो ।

OM Sai Pathibhara Hospital

विनयी खोलामा डाइभर्सन बनाएर एकतर्फी बाटो सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय नवलपरासी(बर्दघाट सुस्तापूर्व)का प्रहरी उपरीक्षक यादव ढकालले बताए । गत पुस २६ गते भारतीय हेवी ट्रक पास हुने क्रममा विनयी खोलाको पुल भाँचिएपछि बनाएको डाइभर्सन खोलाले बगाएपछि दिन भर सडक अवरुद्ध भएको थियो ।

दाउन्नेमा वर्षाका कारण बाटो हिलो र चिप्लो हुँदा सडक अवरुद्ध भइरहेका बेला विनयी खोलामा आएको बाढीले डाइभर्सन नै बगाएपछि सयौँ यात्रु तथा सवारी बिच बाटोमा अलपत्र परेका थिए । डाइभर्सन नहुँदा नारायणगढ–बुटवल भएर चल्ने सवारी साधन पूर्ण रूपमा अवरुद्ध भएका थिए भने अत्यावश्यक साधनलाई होङ्सी सिमेन्ट उद्योगको बाटो भएर आवतजावत गराइएको थियो ।

दाउन्ने क्षेत्रमा कालोपत्रे सडक खनेर विस्तारको काम भई रहेको अवस्थामा बिहीबार बिहान परेको वर्षाले सडक हिलाम्य भएपछि यस क्षेत्रको आवागमन अस्तव्यस्त बनेको छ । दाउन्ने क्षेत्रमा हिलो माटो हटाएर केही सहज बनाइएको प्रहरी उपरीक्षक ढकालले जानकारी दिए ।

दाउन्ने क्षेत्रमा गत बुधवार देखि आगामी चैत ३१ गते सम्मका लागि दिनको ११ बजे देखि ३ बजे सम्म आवागमन बन्द गरेर मर्मत कार्य सुरु गरिएको थियो । त्यसै गरी आगामी वैशाख १ गते देखि १५ गते सम्म राति ११ बजे देखि बिहान ५ बजे सम्म आवागमन रोकेर विस्तारको काम गरिने तयारी गरिएको छ ।