काठमाडौं— प्रहरीले मानव बेचबिखन तथा ओसारपसार मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । मानव बेचबिखन तथा ओसारपसार मुद्दाका फरार प्रतिवादी गोरखा नगरपालिका–११ घर भएका २१ वर्षीय नीरज ढकाललाई मङ्गलवार प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला अदालत काठमाडौंको गत मङ्सिर ५ गतेको फैसलाले उक्त मुद्दामा ५ वर्ष कैद सजाय र नगद २५ हजार रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई मानव बेचबिखन ब्युरो बबरमहलबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय गोरखासँगको समन्वयमा गोरखा नगरपालिका–११ बाट पक्राउ गरेको हो ।

उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेस गरिएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय डिल्लीबजार पठाइएको प्रहरीले जनाएको छ ।