काठमाडौं— काठमाडौं उपत्यकामा अहिले वर्षा भइरहेको छ। मध्याह्न,अपराह्न र राति पनि सामान्यरूपमा पानी पर्ने मौसमविद् डेभिड ढकालले जानकारी दिए । वर्षासँगै उपत्यकाका साथै देशका अधिकांश भागमा लागेको तुवाँलो पनि क्रमिकरूपमा हट्ने उनले बताए।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार कोशी र मधेश प्रदेश, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ। देशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का वर्षा एवं हिमपातको अनुमान छ।

दिउँसो बागमती प्रदेशका हिमाली क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही केही स्थानमा हल्का हिमपातको सम्भावना छ। पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। तराई क्षेत्रमा आंशिक देखि साधारणतया बदली रही एकदुई स्थानमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
राति ती प्रदेशका हिमाली क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही केही स्थानमा हल्का हिमपातको सम्भावना छ। पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली एकदुई स्थानमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। तराई क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही एकदुई स्थानमा मेघगर्जन, चट्याङ र हुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।