काठमाण्डौ । सशस्त्र प्रहरीमा बैशाख ३ गतेदेखि रिक्त हुन लागेको एआईजीको एक पदका लागि तिव्र प्रतिस्पर्धा सुरु भएको छ ।
एआईजी चन्द्रप्रकाश (सिपी) गौतमले आगामी ३ बैशाखदेखि ३० वर्षे सेवाहदका कारण अनिवार्य अवकाश पाउँदैछन् ।

गौतमको अवकाशपछि रिक्त हुने पदका लागि मुख्यगरी चार डीआईजीबीच प्रतिस्पर्धा छ । डीआईजीहरू गणेश ठाडा मगर, कमल गिरी, कुलबहादुर नेम्वाङ र शम्भु सुवेदीबीच प्रतिस्पर्धा छ ।अहिले एआईजी हुने तीन वर्षपछि आईजीपी हुने सम्भावना भएकाले अहिले बढुवामा चर्को प्रतिस्पर्धा देखिएको हो ।
पैसा खर्च गरेर भएपनी अहिले एआईजी हुने दाउमा कमल गिरी देखिएका छन। उनी पूर्वआईजीपी शैलेन्द्र खनालका निकट मानिन्छन् । खनालकै चिनजानका शक्तिकेन्द्रमार्फत उनले चलखेल गरिरहेका छन। त्यस्तै गणेश ठाडा मगर हाल बागमती प्रदेशको बाहिनीपति छन् । जनजाती नेतामार्फत उनी पनि पनि लबिइङमा लागेका छन् । नेम्वाङ र सुवेदी पनि पछिल्लो समय कामै छाडेर नेता भेट्ने दौडमा छन् ।
सिंस १ का डीआईजीहरु पनि सुरेश श्रेष्ठ, अञ्जनीकुमार पोखरेल, दिपेन्द्र साह र पुरुषोत्तम थापाको ब्याच अघिल्लो टोलीविरुद्ध लाग्दै आएका छन। उनिहरु सिनियर टोलीको म्याद थप नै रोकेर अघि बढ्ने प्रयासमा तीन महिनाअघि पनि लागेका थिए तर, त्यसमा सफल भएनन् ।
सशस्त्रका अहिलेका महानिरीक्षक राजु अर्यालको कार्यकाल २०८३ को बैशाख १८ सम्म छ । उनीपछि नारायणदत्त पौडेल र बंशीराज दाहालमध्ये एक आईजीपी हुनेछन् । उनीहरुमध्ये एक २०८४ को चैत १८ सम्म आईजीपी हुने सम्भावना छ । त्यसपछि रिक्त हुने आईजीपीमा अहिले एआईजी हुनेबाट नै नियुक्ति हुनेछन् ।