काठमाडौं । शिक्षा ऐन जारी गर्न माग गर्दै काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका शिक्षक-कर्मचारीहरुले दिउँसै टर्च बालेर सरकारको सांकेतिक विरोध गरेका छन् ।
बानेश्वर-बबरमहल सडकखण्डमा भेला भएका शिक्षक-कर्मचारीहरुले मोबाइलको टर्च बालेर प्रदर्शन गरिरहेका छन् । उनीहरुले छिटो शिक्षा ऐन जारी गर्न माग गर्दै नाराबाजीसमेत गरेका थिए । सुरक्षाका लागि बाक्लो संख्यामा प्रहरीहरु परिचालन गरिएको छ । उनीहरुको प्रदर्शनका कारण बानेश्वर-बबरमहल खण्डमा सवारी आवागमन प्रभावित भएको छ ।

गुणस्तरीय विद्यालय शिक्षा, विद्यार्थी र शिक्षक-कर्मचारी मैत्री विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग राख्दै महासंघको नेतृत्वमा देशभरका शिक्षकहरु आन्दोलनमा उत्रिएका छन् । यसैक्रममा उनीहरुले चैत्र २० गतेदेखि काठमाडौंमा प्रदर्शन गर्दै आएका छन् । उनीहरुले यसलाई शिक्षा ऐन जारी गराउने सवालमा ‘अन्तिम र निर्णायक आन्दोलन’ भनेका छन्।
काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका शिक्षकहरुले चैत्र २५ गतेदेखि आम शैक्षिक हड्ताल घोषणा गरेका छन् । शिक्षकहरुको आन्दोलनले एसईई परीक्षाको उत्तरपुस्तिका परीक्षण समेत प्रभावित हुँदा नतिजा प्रकाशनमा ढिलाइ हुने देखिन्छ ।
शिक्षकहरुले यसअघि कालोपट्टी बाँधेर, सिट्टी फुकेर, मौन भएर, सडकमै सुतेर पनि प्रदर्शन गरेका थिए । आज उनीहरुले मोबाइल र हेड ल्याम्प प्रयोग गरेर सरकारको ध्यानाकर्षण गराउने प्रयास गरेका छन् ।