काठमाण्डौ । काठमाण्डौ जिल्ला अदालतले राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री धवलशमशेर राणासहित राज्यविरुद्धको कसुरका २० आरोपितलाई अझैं १५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।
गत चैत १५ गते तीनकुनेमा राजवादी समूहले गरेको हिंसात्मक प्रदर्शनमा उनीहरुको संलग्नता रहेको आरोपमा प्रहरीले मिश्र, राणालगायतलाई पक्राउ गरेको थियो । पक्राउ परेका अन्य ५४ जनालाई भने आपराधिक उपद्रवको कसुरमा अनुसन्धान थालिएको छ । ती मध्ये ५३ जनालाई थप २० दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । उक्त घटनामा संलग्न रहेको आरोपमा प्रहरीले हालसम्म ७४ जनालाई पक्राउ गरिसकेको छ ।

तीनकुनेको उक्त हिंसात्मक प्रदर्शनमा एक पत्रकारसहित २ जनाको मुत्यु भएको थियो । प्रदर्शनकारीहरुले निजी घर, व्यवसायिक स्थल, सरकारी सम्पत्तिमा तोडफोड, आगजनी र लुटपाट गरेका थिए ।