काठमाण्डौ । काठमाडौंको विभिन्न स्थानमा हुने आन्दोलनका कारण आज सवारी आवागमन प्रभावित हुने भएको छ। नेपाल शिक्षक महासंघ, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), सहकारी र लघुवित्त पीडितले प्रदर्शन गर्ने भएपछि काठमाडौंको सवारी आवागमन प्रभावित हुने भएको हो।
राष्ट्रिय प्रजातन्त्र पार्टीले आज काठमाडौंको बल्खु क्षेत्रमा विरोध प्रदर्शन गर्दैछ । कार्यक्रमलाई मध्यनजर गर्दै आवश्यकताअनुसार सवारीसाधनलाई ‘डाइभर्सन’को व्यवस्था मिलाइएको ट्राफिक प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, खसीबजार–मकालु–कलंकी चोक–बाफल, बल्खु चोक–कुलेश्वर–कालिमाटी चोक–टेकु, कीर्तिपुर–सुन्दरीघाट–सानेपा हुँदै एकान्तकुनामा सवारी डाइभर्सन गरिनेछ ।
आवश्यक परेमा त्रिपुरेश्वर–बालाजु–हलचोक–नैकाप हुँदै सीतापाइला र चोभार–फर्पिङ–नख्खु दोबाटो हुँदै कोटेश्वरतर्फ सवारी डाइभर्सन गरिने जनाइएको छ ।
कार्यक्रममा सहभागी हुन सवारीसाधन लिएर आउनेका लागि टीयू गेटदेखि चोभार सडक, सानेपा करिडोर सडक (दुवैतर्फ) र चोभार सुक्खा बन्दरगाह, नयाँबसपार्क र सीतापाइला–बाफल सडकखण्डमा पार्किङको व्यवस्था मिलाइएको छ ।
साथै नेपाल शिक्षक महासंघले माइतिघर मण्डलामा भेला भइ बानेश्वर र माइतीघर सडक खण्डको बीचमा कार्यक्रम गर्ने र सहकारी तथा लघुवित्त पिडितले शान्तिबाटिकामा धर्ना दिने जानकारी प्राप्त भएकाले ती क्षेत्रहरूमा समेत सवारी व्यवस्थापन परिवर्तन हुन सक्ने ट्राफिक महाशाखाले जनाएको छ ।