काठमाडौं—  काठमाडौंको थापाथली चोकमा प्रदर्शनमा उत्रिएका मिटरब्याजपीडितलाई प्रहरीले पक्राउ गरेको छ । शुक्रबार बिहान थापाथलीको बीच सडकमा बसेर सवारी आवागमन अवरुद्ध गर्ने प्रयास गरेपछि प्रहरीले उनीहरूमाथि बल प्रयोग गरेको हो ।

पक्राउ पर्नेमा १२ जना पुरुष र १० जना महिला गरी २२ जना रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक अपिलराज बोहाराले जानकारी दिनु भयो ।

नाराबाजी गर्दै ललितपुरबाट काठमाडौंको शान्तिबाटिकातर्फ गइरहेका उनीहरुलाई प्रहरी पक्राउ गरी सिंहदरबार परिसरका राखिएको प्रहरी उपरीक्षक बोहराले जानकारी दिए ।

पीडितहरूका अनुसार, उनीहरू गत शनिबार नै तराईका विभिन्न जिल्लाबाट प्रदर्शनका निम्ति काठमाडौं आएका हुन् । सरकारले विगतमा आफूहरूसँग गरेको सहमति कार्यान्वयन नगरेपछि प्रदर्शनमा उत्रिनुपरेको उनीहरूको गुनासो छ ।