काठमाण्डौ । शुक्रबार राजा समर्थकहरूको अराजक आन्दोलनका क्रममा पत्रकार सुरेश रजकको मृत्यु प्रकरणलाई लिएर माइतीघर मण्डलामा विरोध प्रदर्शन गरिएको छ ।

नेपाल पत्रकार महासंघको आयोजनामा भएको प्रदर्शनमा सहभागीहरूले दोषीलाई अविलम्ब पक्राउ गरी कडा कारबाही गर्न माग गरेका हुन् । बदलिएको परिस्थितिका कारण महासंघले स्थापना दिवसका पूर्वनिर्धारित सम्पूर्ण कार्यक्रम स्थगित गरी प्रदर्शनमा उत्रिएको हो । एभिन्युज टेलिभिजनका क्यामेरापर्सन रजक शुक्रबार राजावादी समूहको आन्दोलनलाई कभर गर्ने क्रममा जलेको अवस्थामा मृत फेला परेका थिए । घटनाको क्रममा आन्दोलनकारीहरूले तिनकुनेस्थित एक घरमा आगजनी गरेका थिए ।

OM Sai Pathibhara Hospital

सोही घरबाट भिडिओ खिचिरहेका रजकलाई बाहिरिन नदिई गेटमा ताल्चा लगाइएको थियो । फलस्वरूप, आगलागीमा परेर उनको मृत्यु भएको बताइन्छ । पत्रकार महासंघलगायत विभिन्न संघ-संस्थाले घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कडा सजाय दिन सरकारसमक्ष आग्रह गरेका छन् ।