चितवन । चितवन राष्ट्रिय निकुञ्जले घडियाल गोहीको गुँड खोज्न सुरु गरेको छ । राप्ती नदी क्षेत्रमा यही चैत १ गतेदेखि गुँड खोज्न सुरु गरिएको हो ।
निकुञ्जका सूचना अधिकारी अविनास थापामगरका अनुसार अहिलेसम्म १४ वटा गुँड फेला परिसकेका छन् । आगामी वैशाख १० गतेसम्म निकुञ्जले दुईजना कर्मचारी खटाएएको बताउँदै स्थानीय बोटे समुदायका व्यक्तिले पनि गोहीको गुँड खोज्न सहयोग गरिरहेका उनले जानकारी दिए ।

बोटे समुदायका व्यक्तिले गुँड खोजेर त्यसको रेखदेख गर्ने भन्दै मगरले वैशाख १५ गतेपछि गोहीको अण्डा सङ्कलन गर्ने तयारी गरिएको जानकारी दिए । उनका अनुसार गत वर्ष राप्ती नदीमा भेटिएका १६ वटा गुँडमध्ये आठ गुँडका दुई सय ४७ वटा अण्डा सङ्कलन गरी कोरलिएको छ । उनले भने, ‘अहिले गुँड खोजेपछि कतिवटा गुँडको अण्डा निकाल्ने भन्ने तय गरिने छ ।’
निकुञ्जले गोही प्रजनन केन्द्र स्थापना गरेर नदी किनारका जोखिमा रहेका गुँडबाट अण्डा सङ्कलन गरी प्रजनन केन्द्रमा ल्याएर कोरल्ने गरिन्छ । कोरलिएका बच्चा हुर्काएर पुनः विभिन्न नदीमा छाड्ने गरिएको निकुञ्ज कार्यालयले जनाएको छ ।
यहाँ उत्पादन गरिएका घडियाल गोही चितवनको नारायणी, राप्ती, कर्णालीलगायत नदीमा छाडिँदै आइएकामा पछिल्लो समयमा राप्ती र नारायणीमा मात्र छाड्ने गरिएको छ । सन् १९७८ मा प्रजनन केन्द्र स्थापना भएपछि गोहीको बच्चा हुर्काएर सन् १९८१ देखि विभिन्न नदीमा छाड्न थालिएको हो ।