काठमाडौं— राजावादी समूहले आगजनी गरेको घरमा जलेर एभिन्युज टीभीमा कार्यरत पत्रकारको मृत्यु भएको जनाइएको छ ।
एभिन्युज टीभीले आफ्नो समाचारमा राजावादीको प्रदर्शनको खबर संकलनका लागि पुगेका पत्रकारको आगजनी गरिएको घरमा जलेर मृत्यु भएको समाचार प्रशारण गरेको छ । घरको चौथो तलामा एउटा शव फेला परेको प्रहरी प्रवक्ता डीआईजी दिनेश आचार्यले जानकारी दिए ।
उनले एभिन्युज टीभीमा कार्यरत पत्रकार भएको हुन सक्ने अनुमान भए पनि पुष्टि नभएको बताए । एभिन्युजका पत्रकार शिव दाहालले दिएको जानकारीअनुसार घरको छतमा बसेर आन्दोलन कैद गरेका पत्रकार सुरेश रजक आजगनीपछि सम्पर्कमा थिएनन् ।
रजकका भान्जा राजेशले दिएको जानकारीअनुसार मामा सुरेश रजकको राजावादीले आगो लगाएको घरमा जलेर मृत्यु भएको छ । तर शव नचिनिने अवस्थामा रहेको हुँदा प्रहरीले हस्तान्तरण नगरेको उनको भनाइ छ ।