काठमाण्डौ । राजसंस्था पुनर्स्थापनाका लागि बनाइएको संयुक्त जनआन्दोलन परिचालन समितिले आन्दोलनमा सरकारले घुसपैठ गराई अशान्त वातावरण सिर्जना गरेको दावी गरेको छ ।

समितिका प्रवक्ता स्वागत नेपालले विज्ञप्ति जारी गर्दै सत्ताधारीहरूले घुसपैठ गराई अशान्त वातावरण सिर्जना गरेको दावी गरेका हुन् । उनले निजी घरभित्रबाट समेत भएको दमनका कारण आक्रोशित जनसमुदायबाट आत्मरक्षाका लागि प्रतिकार भएको दावी पनि गरेका छन् ।

OM Sai Pathibhara Hospital


प्रेस विज्ञप्ति                                       मिति : २०८१।१२।१५

जनआन्दोलन जनताकै नियन्त्रणमा हुन्छ, नेताको नियन्त्रणमा होइन

राजसंस्था पुनर्स्थापनाका लागि शुरु भएको शान्तिपूर्ण जनआन्दोलनमा भ्रष्ट, निरंकुश र प्रतिगामी सत्ताधारीहरुद्वारा घुसपैठ गराई अशान्त वातावरण सिर्जना गराइएकोमा संयुक्त जनआन्दोलन परिचालन समिति निन्दा व्यक्त गर्दछ ।

हिजैदेखि चक्रपथ छुन समेत नदिने गरी षडयन्त्रपूर्वक बालाजु, कलंकी, बूढानीलकण्ठ चाबहिल लगायतका क्षेत्रबाट रिंगरोड नछोई र रिंगरोडबाट भित्रसमेत प्रवेश नगरी कोटेश्वर पुग्नु उर्दी जारी गरी सो स्थानबाट कोटेश्वरतर्फ आउने नागरिकहरुमाथि दमन भइरहेको थियो। त्यसकारण पूर्व एकतर्फबाट मात्रै आएका नागरिकको समूह नै निरंकुशतावादीहरुले सत्ता शक्ति जनताका सुरक्षाकर्मीहरुको दुरुपयोग गरी भृकुटी मण्डपमा सुरक्षाघेराभित्र गरेको कार्यक्रममा भन्दा कयौं गुणा बढी सहभागी भएपछि आत्तिएको सत्ताधारी जत्थाका घुसपैठियाहरुले निजीघर भित्रबाट जनसमुदायमाथि प्रहार शुरु गरेका थिए । त्यसैगरी निजी घरभित्रबाट समेत भएको दमनका कारण आक्रोशित जनसमुदायबाट समेत आत्मरक्षाका लागि प्रतिकार भएको थियो । कार्यक्रमस्थलमा नेतृत्वगण आइपुग्ने समय समेत नदिई भएको घुसपैठ र दमनबाट उत्पन्न अशान्त वातावरणका लागि निरंकुश सत्ताले जिम्मेवारी लिनु पर्ने हामी प्रष्ट गर्न चाहन्छौं । 

साथै यस संयुक्त जनआन्दोलनको नीति शान्तिपूर्ण र भद्र अवज्ञा रहेको स्पष्ट गर्न गर्दछौं। तर सरकारले लिने दमनपूर्ण नीति र घुसपैठियाहरुमार्फत सञ्चालन गरिने प्रतिकारात्मक गतिविधिका विरुद्ध यो आन्दोलन अब सरकारले तोकिदिएको क्षेत्रमा मात्रै सीमित नरहने तथ्य पनि चेतावनीपूर्ण रुपमा जानकारी दिन चाहन्छौं । घाइते आन्दोलनकारी, प्रहरीहरुको तत्काल निःशुल्क उपचार गर्न तथा क्षति पुगेका व्यवसायीहरुका लागि क्षतिपूर्तिको तत्काल व्यवस्था गर्ने जिम्मेवारी पनि सरकारको रहेको हुँदा तत्काल सो को प्रबन्ध गर्न पनि अनुरोध गर्दछौं ।

आजदेखि देश संक्रमणकालमा प्रवेश गरेको छ । गणतन्त्र कागजमा मात्र सीमित रहेको छ । यस अवस्थालाई ध्यानमा राखी पूरानो संसदीय व्यवस्थावादीहरुले नयाँ सहमतिको मार्ग प्रशस्त नगर्ने हो भने स्थिति थप भयावह हुने निश्चित रहेकोले तत्काल सर्वपक्षीय वार्ता र संवादमार्फत अघि बढ्न, राष्ट्रिय अन्तराष्ट्रिय मानव अधिकारवादी संघसंस्थाहरु समेतलाई स्थितिको गम्भीर र विवेकपूर्ण पर्यवेक्षण गरिदिन समेत आह्वान गर्दछौं 

~ स्वागत नेपाल

प्रवक्ता, 

संयुक्त जनआन्दोलन परिचालन समितिFB_IMG_1743164635535