भजनी (कैलाली) । यहाँको टीकापुर नगरपालिका–५ स्थित गौशालास्तर सुधार हुँदै गए पनि चौपायालाई आहाराको अभाव हुन थालेको छ । टीकापुर नगरपालिकाको मातहतमा रहेको गौशाला सामुदायिक पशुचौपाया व्यवस्थापन तथा प्रवद्र्धन समिति टीकापुरले सञ्चालनको जिम्मा लिएपछि गौशाला व्यवस्थित हुँदै गए पनि सो क्षेत्रका चौपायालाई आहारा अभाव कायमै रहेको हो । 

जानकी गाउँपालिका र टीकापुर नगरपालिकाभित्रका  सामुदायिक पशु चौपाया गौशालामा छन् । गौशालामा एक हजारभन्दा बढी चौपायालाई व्यवस्थापन गरिएको छ । विगतमा जानकी गाउँपालिका र टीकापुर नगरपालिकाले छुट्टाछुट्टै गौशाला सञ्चालन गर्दै आएका थिए । ‘दुई पालिकाको संयुक्त चौपाया व्यवस्थापन गर्दा चौपायाको सङ्ख्या दिनप्रतिदिन बढ्दै गएको छ । समितिसँग पर्याप्त स्रोत नहुँदा आहारा पु¥याउन समस्या हुँदै आएको छ’, समितिका अध्यक्ष लोकबहादुर बुढा क्षेत्रीले भने, ‘दाताहरूले गरेको सहयोग र गौशालाको केही आम्दानीले जसोतसो चौपायालाई खुवाउन पुगेको छ ।’

OM Sai Pathibhara Hospital

उनका अनुसार गौशालालाई विभिन्न व्यक्तिहरुले विशेष अवसरमा सहयोग गर्दै आएका छन् । त्यसैगरी गौशालाले प्रशोधित गौमूत्र, मलखाद, गाइको गोबरबाट बनाइएका पूजाका सामग्रीहरु समितिले आम्दानीको स्रोतमा राखेको छ । त्यहाँबाट थोरै भए पनि गौशालालाई आम्दानी हुन्छ ।

संरचनागत रुपमा व्यवस्थित बन्दै गए पनि चौपायाको आहाराको व्यवस्थापनमा चुनौती थपिँदै गएको उनको भनाइ छ । खासगरी पर्याप्त मात्रामा परालको व्यवस्थापन हुन नसक्दा आहारा खोज्दै हिँड्नुपरेको बुढाक्षेत्री बताउँछन् । ‘हामीसँग पराल धेरै थियो । एक वर्षलाई पुग्छ भनेको पराल छ महिनामै सकियो’, उनी भन्छन्, ‘अझै समय धेरै छ । पराल कतै पाइँदैन । पाइएको ठाउँमा पनि महँगो छ । खरिद गर्नका लागि समितिसँग पैसा छैन ।’ चौपायाको आहारा बोक्नका लागि टीकापुरका उद्योगी टीकाराम जैसीले गौशालालाई एउटा ट्याक्टर सहयोग गरेका छन् ।

व्यवस्थित हुँदै गौशाला

गौशालाबाट हाल दैनिक २० लिटरसम्म दूध बजार पु¥याउन थालिएको छ । ‘दूध दिने गाईलाई छुट्टै राखेर दूध दुहुन थालेका छौँ । त्यसबाट उत्पादित दूध बजार पु¥याउँछौँ’, समितिका अध्यक्ष बुढाक्षेत्रीले भने, ‘अन्य व्याउने गाईलाई छुट्टै राखेर हेरचाह भइरहेको छ । अबको केही महिनामा ४० लिटरसम्म दूध बजार लैजाने योजना छ ।’ ब्याएका गाईका लागि सीमित जग्गामा घाँसखेती गरिएको छ । जग्गा अभावले त्यो अपुग  छ । 

टीकापुर नगरपालिकाले गौशाला व्यवस्थापनका लागि वार्षिक रु २० लाख रकम सहयोग गर्दै आएको छ भने जानकी गाउँपालिकाले रु पाँच लाख सहयोग गर्दै आएको छ । सहयोग रकमबाट गौशालाका कामदारलाई व्यवस्थापन गर्न सकिएको बुढाक्षेत्री बताउँछन् । हाल गौशालामा १० जना कामदार छन् । 

नगरपालिकाले सो क्षेत्रमा करोडौँ खर्च गरेको छ । चौपायाको गोबरबाट बायोग्याँस उत्पादन गर्न ग्यास प्लान्ट निर्माण गरेको छ । जैविक मल उत्पादनका लागि दुई भवन छुट्टै छन् । दूध सङ्कलन केन्द्रको भवन निर्माण भएको छ । दूध बजार पु¥याउन एक इलेक्ट्रोनिक रिक्सा गौशालामा छ । फ्रिजको व्यवस्था गरिएको छ । सिसीटिभी क्यामरा जडान गरिएको छ ।

गौशाला व्यवस्थित भएपछि किसानलाई राहत मिलेको छ । हिउँदको समयमा लगाएको अन्नबाली जोगाउन मुस्किल हुने किसानले यस वर्ष सामुदायिक छाडा चौपायाको सास्ती खेप्नुपरेन । ‘विगतमा खेतमा त्रिपाल हालेर रातभर चौपायाको चौकिदारी गर्नुपथ्र्यो’, जानकी गाउँपालिका सुवर्णपुरका किसान सञ्जीव चौधरीले भने, ‘यस वर्ष चौपाया देखिएका छैनन् । पहिलेको जस्तो चौपायाले खेती नष्ट गर्छन् कि भन्ने चिन्ता पनि छैन ।’