काठमाडौं— नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले भ्रष्टाचारको नायकलाई नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) को महानिर्देशक बनाउने काम भएको दाबी गरेका छन।
शनिबार म्याप मेमोरियल सोसाइटीले गत साउन ९ गते त्रिभुवन अन्तर्राष्टिय विमानस्थलमा भएको सौर्य एअरलाइन्स विमान दुर्घटना परी निधन भएकाहरुको आठौँ मासिक पुण्य तिथिमाका अवसरमा आयोजना गरेको कार्यक्रममा नेता खनालले पार्टी सरकारमा गएका बेला क्यानको महानिर्देशकमा भ्रष्टाचारको नायकलाई नियुक्त गर्ने काम भएको बताए।

उनले महानिर्देशकले कस्तो काम गरेको छ भन्ने छानबिन गर्नुपर्ने जिकिर गरे। भ्रष्ट व्यक्तिलाई क्यानको महानिर्देशक पदमा नियुक्त गर्ने सिफारिसकर्ताको अनुहार पनि अब बाहिर आउने उनको भनाइ छ।
नेता खनालले आफूले पार्टी सदस्यता लिएपछि देशमा कुनै गलत काम नगरेको दाबी गरेकाछन। उनले कम्युनिष्ट पनि हुँ भन्ने र कमिसनमा मुख गाड्ने कुरा सुहाउँदो नभएको उल्लेख गरे। महानिर्देशक नियुक्त गर्दा सिनियर र योग्यको ख्याल नगरी तत्कालीन मन्त्री र प्रधानमन्त्रीको हितमा काम गर्नेलाई नियुक्त गरिएको उनको भनाई छ।
नेपालमा हवाई यात्रा कति सुरक्षित? भन्ने विषयक अन्तरक्रिया कार्यक्रममा एकीकृत समाजवादी निकट अनेमसंघ (समाजवादी) का तर्फबाट जयन्ती राई, अनेरास्ववियूका तर्फबाट महेश श्रेष्ठ र समाजवादी प्रेस संगठनका तर्फबाट भरतराज पोखरेलले एक्येवद्धता जनाएका थिए।