काठमाडौं— सिराहाका प्रमुख जिल्ला अधिकारी बासुदेव दाहाल गृह मन्त्रालय तानिएका छन् । दाहाललाई फिर्ता बोलाएर कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याललाई सिरहा पठाइएको गृह मन्त्रालयले जनाएको छ ।

औरही गाउँपालिका–५ मा विष्णु महायज्ञ गर्न भनी दलित परिवारको घर भत्काएर उठीबास लगाएको घटनाको चौतर्फी आलोचना हुँदै आएको थियो। 

OM Sai Pathibhara Hospital

महायज्ञ गर्न आएका बाबाको निर्देशनमा गाउँपालिका अध्यक्ष शिवजी यादव र जनमत पार्टीका गाउँपालिका समिति अध्यक्ष दिलिप यादवले जेसीबी लगाएर दिपक मरिक (डोम) को घर भत्काएर उठीबास गराएको समाचार प्रकाशित भएसँगै दोषीमाथि चौतर्फी कारबाहीको माग भएको छ । 

बुधबार पीडित दिपककी श्रीमती अनिता मरिकले आफूहरू बस्दै आएको घर भत्काएर अन्यत्र सर्न लगाइएको बताएकी थिइन् । मरिक परिवार वर्षौंदेखि बस्दै आएको सो स्थानमा महायज्ञको तयारी गरिएको छ ।

महायज्ञ गर्न भनी दलित परिवारलाई हटाएको बारे सत्यतथ्य र स्वतन्त्र छानबिन गर्न गृहमन्त्री रमेश लेखकले प्रहरीलाई निर्देशन दिएका छन् । सोही अनुसार उनी मन्त्रालय तानिएका हुन् ।