काठमाडौं । माधव चम्लागाईँले नेपाली कांग्रेसको भातृ संस्था राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघको पहिलो केन्द्रीय महाधिवेशनमा अध्यक्ष पदमा उमेद्वारी घोषणा गरेका छन् । 

बिहीबार काठमाडौंमा संघले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले आफ्नो अध्यक्ष पदमा उमेद्वारी घोषणा गरेका हुन् । 

OM Sai Pathibhara Hospital

उमेद्वारी घोषणापछि उनले अपाङ्गता क्षेत्रमा विगत लामो समयदेखि विभिन्न किसिमले हक र अधिकारको लागि निरन्तर रुपमा लागिरहेकाले त्यसको मूल्यांकन हुनेमा विश्वस्त रहेको सुनाए । 

अपाङ्गता व्यक्तिहरुलाई पनि स–सम्मानपूर्वक समाजमा बाच्न पाउने अधिकार स्थापना गर्ने उद्देश्यका साथ अघि बढिरहेको भन्दै अपाङ्गता भएका व्यक्तिहरुलाई पटक–पटक विभिन्न तहमा राजनीतिक अधिकार स्थापना गर्नको लागि वकालत गर्दै आइरहेको कारण अध्यक्ष पदमा आफूलाई योग्य ठानेको उनको भनाइ थियो । 

उनले भने, ‘अपाङ्गता भएको क्षेत्रमा लामो समयदेखि विभिन्न तरिकाले हक र अधिकारको लागि निरन्तर रुपमा लागिरहेको छु । संविधान निर्माणको हरेक प्रकृयामा अपाङ्गता भएकाको हकअधिकार स्थापना गर्नको लागि केन्द्रीय नेतृत्वदेखि अरु विभिन्न तहको नेतृत्वहरुसँग पटक–पटक छलफल गरेर अपाङ्गताको मुद्दा बुझाउने काम पनि गरिरहेको छु । अपाङ्गता व्यक्तिहरुलाई पनि स–सम्मानपूर्वक समाजमा बाच्न पाउने अधिकार स्थापना गर्नुपर्छ भन्ने उद्देश्यका साथ अघि बढिरहेको छु । अपाङ्गता भएका व्यक्तिहरुलाई पटकपटक विभिन्न तहमा राजनीतिक अधिकार स्थापना गर्नको लागि वकालत गर्दै आइरहेको छु । जसको कारण अध्यक्ष पदमा आफूलाई योग्य ठानेर उमेद्वारी दिएको छु ।’

त्यस्तै उनले अपाङ्गता भएका व्यक्तिहरुको हकहितको  लागि अरुले बोलेर मात्र नहुने भन्दै उनीहरुको पीडाको लागि उनीहरुलाई अघि बढाउने अठोट समेत व्यक्त गरे ।  

‘अपाङ्गता भएका व्यक्तिहरुलाई सुनिश्चत गर्नुपर्छ । उनीहरुको  हकहितको  लागि अरुले बोलेर  हुँदैन कि उहाँहरुको पीडाको लागि उनीहरु नै लाग्नुपर्छ भनेर नै  काम गरिरहेका छौं  । सामुहिक प्रयासका कारण सफल पनि भएका छौं । यसमा निरन्तर रुपमा लागि रहने अठोट समेत गर्दछु,’उनले भने । 

सबै ठाउँमा अपाङ्गमैत्री भनिँदै आएको तर आफूहरुले अब सबै युनिर्भसल डिजाइन अन्तरगत हुनुपर्ने आवाज आफूहरुको रहेको उनी बताउँछन् ।

उनले समावेशी, समानुपातिक सिद्धान्तअनुसार अपाङ्ग भएकाहरुको जनसंख्या २.२ को आधारमा सांसदहरुदेखि स्थानीय तहसम्म र निकायसम्म प्रतिनिधित्व  गराउन निश्चित होस् भन्नको लागिलबिङ गर्ने, सरकारसँग, शिर्ष तहका नेताहरुसँग, नागरिक समाजसँग र सबै  समाजलाई बुझाएर काम गर्ने प्रतिबद्धता उनले जनाए । 

उनले भने, ‘सबै ठाउँमा अपाङ्गमैत्री भनिँदै आएको थियो तर अब युनिर्भसल डिजाइनअन्तरगत डिजिटल क्षेत्र बालमैत्री, वृद्धमैत्री अर्थात आवाज युनिर्भसल डिजाइन अन्र्तगत हुनुपर्छ । सबै संरचनाहरु त्यही अन्तरगत हुनुपर्छ । सबै वेभसाइटहरुमा अपाङ्गहरुको पहुँच पुग्नेगरी आफैं पैसा तिर्न सक्नेगरी अब्बल बनाउनुपर्छ । यता भौतिकमामात्र नभइ डिजिटल रुपमा पनि काम गर्ने छौं ।  समावेशी, समानुपातिक सिद्धान्तअनुसार अपांग भएको जनसंख्या २.२ को आधारमा सांसदहरुदेखि लिएर स्थानीय तह वा सबै निकायमा प्रतिनिधित्व गराउन निश्चित होस् भन्नको लागि लबिङ गर्छौ ।’

संघको केन्द्रीय सदस्य रहेका लामो समयदेखि अपाङ्गता भएका व्यक्तिहरूका अधिकार र हकहितका पक्षमा नीति निर्माण तहमा काम गर्दै आएका चम्लगाईंले संविधान निर्माणदेखि कांग्रेसको विधान संशोधनसम्म अपाङ्गता भएका व्यक्तिहरूको राजनीतिक प्रतिनिधित्वको विषय बलियोसँग उठाउँदै आएका थिए ।

चम्लागाईका प्रतिबद्धता

–नेपालको संविधान र अपाङ्गता सम्वन्धि कानूनलाई गाउँतहसम्म कार्यान्वयन गर्न र तीनै तहमा अनिवार्य राजनीतिक तहमा सहभागीताको लागि संविधान संशोधनका बखत बफादार भई अधिकार सुनिश्चित गर्न कार्य गर्नेछु ।

–नेपाली कांग्रेसको विधानमा संघ, प्रदेश, स्थानीय तहदेखि वडासम्म अनिबार्य अपाङ्गताको समावेशी समानुपातिक र अन्तरवर्गीयतासहितको सहभागिताको सुनिश्चिता गराउने छु ।

–अपाङ्गता भएका व्यक्तिहरुको युवा रोजगार स्वरोजगार र अतिपुर्ण अशक्तहरुको लागि अनिवार्य सहयोगी सेवा र सामुदायिक सहायताको लागि जीवन भर लडाई लड्ने छु ।

–अपाङ्गता भएका व्यक्तिहरुको अधिकारलाई स्थानीयस्तरसम्म लैजान तीनै तहमा समन्वय गर्ने गरि राष्ट्रियस्तरको अपाङंगता अध्ययन तथा सशक्तिकरण प्रतिष्ठान गठन गरि कार्यान्वयन गर्न राज्यलाई दवाव दिनेछु ।

–देशको प्रशासनिक निकायमा अपाङ्गमैत्री पुर्वाधार र व्यवहार नभएको अवस्थामा पार्टीमार्फत त्यसको ब्यवस्थापनमा आवाज बुलंद पार्नेछु ।

–निर्वाचन आयोगले अपाङ्ग प्रतिनिधित्वको विषयलाई कार्यान्वयन गर्न नसकेको अवस्थामा स्थानीयदेखि केन्द्रीयतहसम्म जनप्रतिनिधि अनिवार्य गर्ने तर्फ सबैको साथ लिएर अघि बढ्नेछु ।

–शैक्षिक पाठ्यक्रमलाई सबै किसिमका अपाङ्गत्ता भएका ब्यक्तिहरुको पहुँचमा हुने गरि निर्माण गर्न भुमिका निर्वाह गर्नेछु ।

–हालसम्म अपाङ्ग भएका व्यक्तिहरुको पहिचान नै हुन नसकेको हुँदा पहिचान नभएका अपाङ्गता भएका व्यक्तिको पहिचानको लागि कानून शंशोधनको पहल गर्नेछु ।

–युवा साथीहरुको क्षमतालाई प्रस्फुटन गर्ने र युवा जनशक्तिबाट आर्थिक सामाजिक साँस्कृतिक अधिकार प्राप्तिको लागि सातै प्रदेशमा युवा चौतारी गठन गरि युवाहरुका सवाल सिधै सरकारसंग लगि समस्याको समाधान गर्नेछु ।

–नेपाली काँग्रेशको केन्द्रिय कार्यालयमा हटलाईन निशुल्क टेलिफोनको ब्यवस्था गरि प्राप्त गुनासालाई तत्कालै सम्वोधन गर्ने व्यवस्था गर्ने छु ।

–मेरो नेतृत्व पश्चात भावि नेतृत्व तयार गर्न व्यापक रुपमा नेतृत्व बिकास कार्यमा कार्य गर्नेछु ।

–हालको स्थानीय संरचनाअनुसार ७५३ स्थानीय तहमा सामुदायिक अपाङंगता समन्वय बजेटसहित समिति गठन गरि अपाङ्गता भएका व्यक्तिका समस्या स्थानीयस्तरमा नै समाधान गर्नेछु ।