काठमाडौं— नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो समय राजावादीहरूले गरिरहेका क्रियापकल संविधान विपरित भएको टिप्पणी गरेका छन् ।

जनतालाई पुनः एकपटक रैती बनाउनेगरी प्रयास सुरु गरिएको बताउँदै उनले जनतामा गएको सार्वभौमसत्ता परिवर्तन हुन नसक्ने दाबी गरे ।

OM Sai Pathibhara Hospital

राजधानीमा आयोजित एक पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले भनेका छन्, ‘अहिले राजावादीहरूले जे गरेका छन्, त्यो संविधान विपरित काम हो । जनतालाई फेरि एकचोटी रैती बनाउनेतिर प्रेरित छ । सबै उत्पीडित वर्ग र समुदायको बढी जिम्मेवारी छ ।’

प्राप्त उपलब्धीको रक्षा गर्नुपर्ने बताउँदै प्रचण्डले राजाहरूले गरेका कार्यहरूबारे अहिलेको पुस्तालाई जानकारी गराउनुपर्ने बेला आएको पनि बताए ।

‘कालरात्री फर्काउनेतिर हामी कसैले सोच्न हुँदैन । कोत पर्व के थियो, भण्डारखाल पर्व के थियो, नेपालको नक्सालाई संकुचित बनाउने काम कसरी भएको थियो, हिजोका राजा महाराजाले नेपालको बेइज्जत कसरी गराएका थिए, यहीँ कलकत्तामा के भएको थियो, नमिता–सुमिता हत्याकाण्ड के थियो, दरबार हत्याकाण्ड के थियो भन्ने कुरा युवाहरूलाई बुझाउने काम हाम्रो आएको छ,’ प्रचण्डले भनेका छन् ।

संघीय लोकतान्त्रिक गणतन्त्र आएपछि जनताका धेरै अपेक्षा रहेको भए पनि त्यो पूरा हुन नसकेको उनको भनाइ थियो । त्यसलाई गम्भीर समीक्षा गरेर जानुपर्नेमा आफ्नो पार्टी पहिलो नम्बरमा रहेको प्रचण्डले बताए ।


‘संघीय लोकतान्त्रिक गणतन्त्र आएपछि जनताको अपेक्षा अब धेरै विकास हुन्छ, अधिकार पनि पाउँछौं भन्ने थियो,’ उनले भने, ‘त्यो अनुसार राजनीतिक दल र नेताहरूले काम गर्न नसकेको साँचो हो । त्यसको समीक्षा गर्नुपर्छ र उपचारतिर लाग्नुपर्छ भन्नेतिर माओवादी केन्द्र देशमा एक नम्बर पार्टी हो ।’