काठमाडौं— नेकपा (एकीकृत समाजवादी) का सांसद डा. वेदुराम भुसालले राजनीतिक दलका नेता तथा सार्वजनिक पद धारण गरेका व्यक्तिहरुको सम्पत्ति छानबिन गर्न उच्चस्तरीय आयोग गठन गर्न प्रस्ताव गरेका छन्। राष्ट्रियसभाको सोमबारको बैठकमा उनले यस्तो प्रस्ताव गरेका हुन्।
उनले मुलुकमा सुशासन कायम गर्न भ्रष्टाचार बाधक रहेको समेत उल्लेख गरे। संविधान संशोधन गरेरै भए पनि सर्वशक्तिसम्पन्न उच्चस्तरीय आयोग गठन गर्नुपर्ने उनको भनाइ छ। उनले छानबिन गर्दा यदि कसैले गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरेको भेटिए त्यसलाई राष्ट्रियकरण गर्नेगरी अघि बढ्न जरुरी रहेको बताए।

‘अर्को कुरा भ्रष्टाचारको यति ठूलो आवाज उठेको छ भने सुशासनको मूल समस्या भ्रष्टाचार हो भने त्यसका निम्ति संविधान संशोधन गरेरै भए पनि एउटा उच्च स्तरको सर्वशत्तिसम्पन्न छानबिन आयोग बनाऔँ‚’ उनले भने, ‘जसले केवल राजनीतिकर्मीको मात्रै नभई मुलुकको सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ति छानबिन गरोस्। छानबिन गर्दा यदि कसैले गैरकानूनी ढंगले कमाएको सम्पत्ति छ भने त्यसलाई राष्ट्रियकरण गरौँ।’
उनले संविधानमा रहेका समस्याहरुको पहिचान गर्न संविधानको पुनरवलोकन गर्न जरुरी रहेको बताए।