कमलामाई (सिन्धुली) । सिन्धुलीको सदरमुकाम सिन्धुलीमाडी बजार शान्त छ । बसपार्क सडक छेवैका चिया पसलहरूमा भने चहलपहल देखिन्छ । गाउँ सुनसान पारेर सहरमा उज्यालो भविष्य खोज्न हिँडेका केही युवाहरू हतारोमा छन्, कोही गफमा मस्त । यहीँ एउटा कुनामा एक्लै चिया पिउँदैछन्, पुजन बस्नेत ।

पुजन सिन्धुलीको तीनपाटन गाउँपालिका–११, कन्याखोलाका बासिन्दा हुन् । २२ वर्ष पुगेका यी युवाले सूचना तथा प्रविधि (आइटी) मा स्नातक गरेका छन् । उनीसँग वेबसाइट बनाउने, मोबाइल एप बनाउने, ग्राफिक्स डिजाइन र भिडियोग्राफी गर्ने सीप छ । तर, सीप र सङ्र्घषअनुसारको कमाई छैन । 

OM Sai Pathibhara Hospital

पुजन जिल्लामै केही गर्ने सोचले अघि बढ्न खोजे । आफ्ना साथीसँग मिलेर स्थानीय रूपमा केही काम गर्ने प्रयास गरे । तर, लगानीको अभाव भयो । बैङ्कहरूले कर्जा पत्याएनन्, परिवारको आर्थिक कमजोर थियो । ‘तपार्इंसँग सीप छ, आफ्नै व्यवसाय थाल्न सक्नुहुन्छ नि !’ उनले मुस्कुराउँदै भने, ‘लगानी छैन । बिना धितो बैङ्कले कर्जा दिँदैन । विदेश गएर पैसा कमाउँछु, अनि फर्केर व्यवसाय गर्छु ।’ 

रोजगारीका लागि विदेसिनु उनको रहर नभएर बाध्यता बन्यो । उनले देशमै रोजगारीको प्रयास नगर्नु भएको कहाँ हो र ! स्थानीय तहमा आइटी अफिसरका लागि आवेदन दिए । १५ पटक परीक्षा दिए । लिखितमा नाम निस्कियो, तर मौखिकमा भने जति पैसा बुझाउन नसक्दा अनुत्तीर्ण गराइयो । ‘एक पटक होइन, पटक–पटक पैसा मागियो । एउटा पालिकामा आठ लाखसम्म मागियो । मैले कहाँबाट ल्याउनु त्यति पैसा ?’ उनले चियाको चुस्की लिँदै भने, ‘त्यसैले अब विदेश जाँदैछु ।’ जगिरमा लाग्न शक्तिमा भएकाहरूको सिफारिस वा घूस चाहिने तीतो अनुभव पुजनले निराश हुँदै सुनाए ।

हुन त, पुजनले जिल्लास्थित एक संस्थामा सीपअनुसारको काम गरिराखेका छन् । तर श्रमअनुसारको पारिश्रमिक नपाउँदा उनमा नैराश्यता भित्रिएको छ । श्रम बिहानदेखि रातिसम्म गर्नुपर्छ । तोकिएको रु १० हजार मासिक तलब पनि समयमा पाइँदैन । यसले आफ्नो व्यक्तिगत जीविका गुजार्नसमेत उनलाई धौधौ हुन्छ । 

पुजनका धेरैजसो साथीहरू पहिल्यै विदेश गइसकेका छन् । कोही अस्ट्रेलिया, कोही अमेरिका, कोही खाडी मुलुकमा छन् । पुजनले पनि विदेश जाने प्रक्रिया पूरा गरिसकेका छन् । उनी अब केही दिनमै इटाली जाँदै छन् । सीप भएका, केही गर्ने जोस भएका तर अवसर नपाएका पुजनजस्तै युवाहरू जिल्लाभित्र कम छैनन् । देशभित्र अवसर खोज्न धाइरहेका छन् तर जब भ्रष्टाचार, सिफारिस र राजनीतिक चलखेलको सामना गर्नुपर्छ, उनीहरू हार खाएर विदेसिन बाध्य हुन्छन् । 

यो केवल एकजना युवाको कथा होइन, यो लाखौँ युवाको साझा व्यथा हो । यसैका कारण विशेषगरी जिल्लाको ग्रामीण क्षेत्रमा बिहानै खोल्सामा पानी भर्ने, खेतबारीमा जाने, गाउँलाई उज्यालो बनाउने, बिरामी पर्दा बुबाआमाको स्याहार गर्ने युवाहरू देखिँदैनन् । सुनसान देखिन्छन् गल्लीहरू । सहरको उज्यालो सपना बोक्ने युवाहरू यहाँ भेटिँदैनन् । कोही पढ्न हिँडेका छन्, कोही रोजगारीको खोजीमा छन्, कोही भने भोलिका अनिश्चित यात्राबारे सोचिरहेका भेटिन्छन् । 

एक्काइस वर्षीया सविना दनुवार पनि यस्तै यात्राको दोबाटोमा उभिएकी छन् । अहिले बिबिएस दोस्रो वर्षमा अध्ययन गर्दै छिन् तर उनको पढाइ निरन्तर रहने कि अधुरै छोड्ने भन्ने अन्योल उस्तै छ । ‘घरको अवस्था दयनीय छ । जागिर छैन । दैनिक खर्च चलाउन गाह्रो छ । अब पढाइ छोडेर विदेश जाने सोच्दैछु,’ सविनाले सुनाइन् ।

सविनाका साथीहरूमध्ये कोही अस्ट्रेलिया गइसके, कोही दुबई । उनीहरूसँग बेलाबेला कुराकानी हुन्छ । ‘विदेश गएर दुःख गरे पनि यहाँभन्दा कमाई राम्रै छ,’ भन्ने उनीहरूको भनाइले सविनालाई पनि त्यही बाटो रोज्न बाध्य बनाइरहेको छ । ‘सिन्धुलीमा जागिरका अवसर सीमित छन् । जहाँ अवसर छ, त्यहाँ सिफारिस चाहिन्छ, घूस चाहिन्छ । मसँग न त बलियो स्रोत छ, न त पैसा,’ सविनाले भनिन् ।

आफ्नो ठाउँमा आयआर्जन गर्ने अवसर नभेटिएकी सविनालाई परिवारले विवाह गर्न दबाब दिइरहेका छन् । तर उनलाई आफ्नो खुट्टामा आफैँ उभिएर त्यो निर्णयमा पुग्ने सोच्च छ । पढ्दै, कमाउँदै गर्न कठिन सङ्घर्ष गरिरहेकी सविना अब विदेश जाने तयारीमा छिन् । पुजन र सविना त यस कथाका प्रतिनिधि पात्र मात्रै हुन् । जिल्लामा सञ्चालित कन्सलटेन्सीमा विद्यार्थीको भीडभाड हेर्ने हो भने सहजै अनुमान गर्न सकिन्छ की जिल्लाका थुप्रै युवा रोजगारीको खोजीमा विदेश जाने तरखरमा छन् । 

जिल्ला प्रशासन कार्यालय सिन्धुलीबाट पाँच वर्षको अवधिमा २८ हजार ६५२ जना युवाले राहदानी बनाएको तथ्याङ्कले देखाउँछ । आर्थिक वर्ष २०७७ देखि २०८१ माघ १३ सम्म उक्त सङ्ख्यामा राहदानी बनाएका हुन् । वैदेशिक रोजगारीमा जाने व्यक्तिलाई सूचना, परामर्श, सीप विकास, कानुनी सहायता, मनोसामाजिक परामर्श र वित्तीय साक्षरता प्रदान गर्दै आएको सुरक्षित आप्रवासन परियोजना, सिन्धुलीका संयोजक विजय दाहालका अनुसार गएको दुई वर्षयता बर्सेनि १० हजार युवा जिल्लाबाट विदेश गइरहेका छन् । 

वैदेशिक रोजगार र पढाइको सिलसिलामा विदेश गएका युवाको आकलन तथ्याङ्क जिल्ला प्रशासन कार्यालय र सुरक्षित आप्रवासन केन्द्रमा हुने गरेको भए पनि फर्किएकाहरूको तथ्याङ्क सम्बन्धित निकायसँग छैन । सुरक्षित आप्रवासन केन्द्र, सिन्धुलीका अनुसार १६ वर्षयता रोजगारीका लागि विदेश गएकाहरूमध्ये १५१ जनाको विभिन्न कारणले उतैै मृत्यु भएको छ । एघार वर्षयता ५१ जना बिरामी र काम गर्ने सिलसिलामा अङ्गभङ्ग भएर फर्किएका छन् । यसरी फर्किनेहरूमा विदेश जाँदा लागेको ऋणसमेत तिर्न नसकेकाहरू रहेको पाइएको छ । 

नेपालमा सरकारले रोजगारी सिर्जना गर्न नसक्दा युवा विदेसिन बाध्य छन् । नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि मुकेश घिमिरेका अनुसार सरकारले सीप भएकाहरूलाई समेत उचित अवसर प्रदान गर्न सकेको छैन । उत्पादनमूलक क्षेत्र सीमित हुनाका साथै उद्योग, कलकारखाना, व्यापार–व्यवसायलाई तथा निजी क्षेत्र प्रोत्साहित गर्ने नीति प्रभावकारी ढङ्गले लागू गर्न नसक्दा रोजगारीको अभाव झन् चर्किएको छ । स्थानीय सरकारले स्थानीयस्तरमा रोजगारी सिर्जना गर्नका लागि विशेष खालका कार्यक्रमहरू गरेको पाइँदैन । ‘सरकारले निजी क्षेत्रलाई आवश्यक सहजीकरण र प्रोत्साहन दिएको भए देशभित्रै रोजगारीको अवसर वृद्धि हुने थियो । तर त्यसो हुन नसक्दा, रोजगारी नपाएर नेपाली युवाहरू विदेसिन बाध्य छन्,’ युवा नेता घिमिरेले भने ।

देशभित्रै पर्याप्त रोजगारी सिर्जना गर्न सरकार र निजी क्षेत्रबीच समन्वय आवश्यक रहेको उनको बुझाइ छ । उत्पादनमूलक उद्योगहरू स्थापना गरी रोजगारी सिर्जना गर्न सके सीप भएका युवा विदेसिने बाध्यता कम हुने उनले बताए । हालै तीनपाटन गाउँपालिका–१ बेलघारीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गरेर बेलुका सिन्धुलीमाडी आइपुग्नुभएका कांग्रेस महामन्त्री गगनकुमार थापाले समय सान्दर्भिक विषयमा युवाहरूसँग संवाद गरे । युवाहरूले बढ्दो बेरोजगारीका कारण देश छाड्ने युवा बढिरहेका र समाजमा देखापरेका समस्याहरूका बारेमा सुनाएका थिए । 

महामन्त्री थापाले बेरोजगारी समस्याले युवाहरू विदेसिनु बाध्यता रहेका कुरालाई केन्द्रमा राखेर कांग्रेसले अब एक वर्षसम्म ‘मिसन रोजगारी’ अभियान सञ्चालन गर्ने जानकारी गराए । उनले भने, ‘रोजगारीका क्षेत्र र सम्भावनामाथि सबै क्षेत्रसँग बहस चलाउने कांग्रेसको योजना छ । यसले समस्याको पहिचान र समाधानको उपाय खोजी गर्न सहज हुनेछ । राजनीतिक छलफल, संसद् वा अन्य स्थानमा रोजगार केन्द्रित बहस हुन नसकेका बेला कांग्रेसले मिसन रोजगारी अभियान चलाउँदैछ ।’

रोजगारी सिर्जना गर्न सकिने माध्यम र समस्याका बारेमा पार्टीकै तर्फबाट अध्ययन र अनुसन्धान गरिने कांग्रेसको योजना छ । संवादका लागि छुट्याइएका विषयमा रोजगारीको अर्थ राजनीति, वैश्विक परिदृश्य, उत्पादकत्वको समस्या, सीपको समस्या, व्यावसायिक सुरक्षा, श्रम र रोजगारीको भविष्य लगायत छन् ।

महामन्त्री थापाले नेपालमा रोजगारी छैन भनिरहँदा किन प्राप्त हुन सकिरहेको छैन भन्नेबारे अध्ययन नभएको बताए ।

गत आइतबार नै कांग्रेसले ‘मिसन रोजगारी’ अभियान औपचारिक रूपमा सुरु भएको उद्घोष गरेको छ । के कांग्रेसको यो अभियानले माथिको कथाका प्रतिनिधि पात्रहरू पुजन र सविना जस्ता युवाहरू विदेसिनुको बाध्यता, बेरोजगारी र यसले समाजमा देखिएका समस्याहरूलाई सम्बोधन गर्न सक्ला त ? भन्नेको जवाफको खोजीमा धेरै युवा पर्खिएका छन् ।