बलेवा (बागलुङ) । ठूलो पक्की भवनको घेराले विद्यालय प्राङ्गण छेकिएको छ । साँघुरो जग्गामा दाताको भरमा बनेका भवन उत्तरतर्फ विद्यालय प्राङ्गण र दक्षिणतर्फ सार्वजनिक सडकसँग जोडिएका छन् । झट्ट हेर्दा लाग्छ यहाँ सटरको भाडाले मात्रै विद्यालयले मनग्ये आम्दानी गरिरहेको छ ।
विद्यार्थीका लागि आवश्यक सबै पूर्वाधार बनिबनाउ छन्, विद्यालयमा अभाव केहीकुरामा नहोला, तर २३ जिल्लाका विद्यार्थीले अध्ययन गर्ने यही विद्यालयमा न खेलमैदान छ न पर्याप्त शौचालय र अन्य पूवार्धर नै ।

बागलुङ जिल्लाको पुरानोमध्येको एक सामुदायिक विद्यालय हो विद्यामन्दिर । विद्यार्थी अभावले सामुदायिक विद्यालय रित्तिदै गइरहेका बेला बागलुङ नगरपालिका–३ स्थित विद्यामन्दिर माध्यमिक विद्यालय भने पछिल्लो समय उत्कृष्ट शैक्षिक गन्तव्यका रूपमा परिचित छ । तेइस जिल्लाका एक हजार तीन सय ९६ विद्यार्थीले पठनपाठन गरिरहेका यो विद्यालयमा भने खेलमैदान र शौचालयको अभाव छ ।
दक्षिणतर्फको भव्य भवनमा पाँचवटा सटर सार्वजनिक सूचना गरेर भाडामा लगाउन सकिने अवस्थामा छन् । विद्यालयले एउटामात्रै सटर भाडामा दिएको छ । जसको मासिक भाडा रु दश हजार आउने विद्यालय प्रशासनले जनाएको छ ।
‘भाडाको रकम जे जति उठ्छ त्यो सबै भवन बनाइदिएका दाताका नाममा वार्षिकोत्सवमा विद्यार्थीलाई छात्रवृत्ति दिने गरिएको छ’, विद्यालयका प्रधानाध्यापक छविरमण रेग्मीले भने, ‘विद्यालयका अन्य आर्थिक स्रोतहरूबाट निजी स्रोतका शिक्षकको तलबभत्तालगायत खर्च हुन्छन् ।’
उनका अनुसार विद्यालयमा पर्वत, म्याग्दी, मुस्ताङ, कास्की, स्याङ्जा, रुकुम, रोल्पा, जाजरकोट, मुगु, सुर्खेत, लमजुङ, गोरखा, रामेछाप, दोलखा, सर्लाही, रौतहत, पूर्वनवलपरासी, सिन्धुली, धादिङ, खोटाङ, बागलुङ, नुवाकोट र बारा जिल्लाका विद्यार्थीले अध्यापन गर्दै आएका छन् ।
‘विसं १९९७ मा स्थापना भएको विद्यालय २०७२ सालको भूकम्पमा पठनपाठन गराउँनै नसकिने गरी ठाउँठाउँमा चर्कियो । जसोतसो दाताको सहयोगमा विद्यालय अहिले सुविधासम्पन्न पक्की भवनमा ठडिएको छ’, प्रअ रेग्मीले भने । उनका अनुसार विसं २०७३ मा लगाइएको महायज्ञबाट सङ्कलित रु छ करोड २८ लाखबाट २८ कोठे पक्की भवन बनाइएको हो ।
ब्रिटिस वेलफेयरले रु एक करोड ३९ लाख खर्चेर आठ कोठे भवन समेत निर्माण गरिदिएको छ । यस्तै, स्थानीय समाजसेवी श्रीजय श्रेष्ठ, मनोविज्ञान श्रेष्ठ, कृष्णशङ्कर श्रेष्ठ, गणेशशङ्कर श्रेष्ठ र प्रवीणशङ्कर श्रेष्ठले रु २८ लाख खर्चेर तीनकाठे भवन निर्माण गरिदिएका छन् ।
भौतिक पूर्वाधारले सम्पन्न विद्यालयमा विद्यार्थी सङ्ख्याको अनुपातमा पर्याप्य खेलमैदान र शौचालयको भने अभाव छ । करिब १४ सय विद्यार्थी र ९० जना शिक्षक तथा कर्मचारीले प्रयोग गर्ने शौचालय १३ वटा छन् । यति धेरै विद्यार्थीले प्रयोग गर्ने शौचालय थोरै हुँदा सास्ती खेप्नुपरेको विद्यालयका प्रधानाध्यापक रेग्मीले दुखेसो पोखे । देख्दा स्रोत सम्पन्न देखिने विद्यालयभित्र दर्दनाक समस्याहरू झेल्नुपरेको उनको गुनासो छ ।
खाजा खाने समयमा एकैपटक धेरै विद्यार्थीले शौचालय प्रयोग गर्न लामो समय लाइनमा बस्नुपर्दा पढाइ नै प्रभावित हुने गरेको प्रअको भनाइ छ । जग्गा अभावका कारण विद्यालय भवनको छतमा शौचालय बनाउन सकिने प्राविधिकले सुझाए पनि आर्थिक अभाव हुँदा तत्काल शौचालय बनाउन नसकिएको रेग्मीले बताए ।
‘खेलमैदान अपर्याप्त र साँघुरो छ, विद्यार्थी सङ्ख्या धेरै छ, बालकक्षादेखि १२ कक्षासम्मका विद्यार्थी त्यही मैदानमा भर पर्दा बालबालिकालाई चोटपटक लाग्ने गरेका धेरै घटना छन्’, उनले भने, ‘बागलुङ बजारको जग्गा किन्न सक्ने अवस्था नहुँदा अतिरिक्त क्रियाकलाप आलोपालो गरेर सञ्चालन गर्नुपर्ने अवस्थामा छौँ ।’
नजिकमा रहेका जग्गा भाडा लिएर पर्याप्त खेलमैदान बनाउन सके विद्यार्थी खुल्ला वातावरणमा स्वतन्त्र रूपमा खेल पाउने रेग्मीको भनाइ छ । हिउँदमा धुलैधुलोले नजिकै रहेको चमेनागृहमा खाजा खादा हातले प्लेट छोपेर खानुपर्ने उनले बाध्यता सुनाए । ‘वर्षामा मैदान हिलाम्य हुँदा बिहानको सभा समेत राम्रोसँग गर्न सकिएको छैन’, उनले भने ।
खेलमैदानको समस्या लिएर गण्डकी प्रदेशको अर्थ, पूर्वाधार, सामाजिक विकास मन्त्रालय धाए पनि कहीँकतैबाट सुनुवाइ नभएको गुनासो गर्दै प्रअ रेग्मीले भने, ‘विद्यालयको आन्तरिक स्रोतबाट मैदान व्यवस्थापन गर्ने बजेट छैन, प्रदेशदेखि सङ्घीय मन्त्रालय धाउँदा आश्वासन मात्रै पाइयो, बजेट कतैबाट पाइएको छैन ।’
उनका अनुसार विद्यालयले आफ्नो सेवा क्षेत्रभन्दा टाढाका विद्यार्थीलाई आवास र आवातजावतको व्यवस्था गर्न सकिरहेको छैन । गरिब तथा विपन्न विद्यार्थीका लागि सहयोग र छात्रवृत्तिको अभाव हुँदा विद्यालय छाड्ने समस्या पनि उत्तिकै रहेको उनको भनाइ छ ।
विद्यालयमा घेराबार नहुँदा गत वर्ष सुरक्षाका लागि जडान गरिएको सिसीक्यामेरा चोरी भएको थियो । घेराबार नहुँदा विद्यार्थी भागेर जाने अवस्था र अर्काेतिर अनावश्यक व्यक्तिहरू प्रवेश गर्दा विद्यालय असुरक्षित बनेको रेग्मीले बताए । ‘तारबार नहुँदा विद्यालयका कतिपय महत्वपूर्ण सामग्री जोगाउन हामीलाई हम्मेहम्मे परेको छ’, उनले भने ।
शौचालयपछि विद्यालयले झेल्दै आएको अर्काे समस्या भनेको खानेपानीको हो । गर्मीयाम लागेसँगै विद्यार्थीलाई खानेपानीको कसरी जोहो गर्ने भन्ने विषयले विद्यालय प्रशासनलाई सधैँ सताउने गरेको छ । युरोगार्डमार्फत खानेपानीको व्यवस्था गरे पनि त्यो पर्याप्त नभएपछि ३ नं वडा कार्यालयको पहलमा रात्माटाबाट मूलको पानी आपूर्ति गर्ने तयारी गरिएको प्रअ रेग्मीले जानकारी दिए । उनका अनुसार हिउँदयाममा कम हुने मूलको पानीलाई ट्याङ्की निर्माण गरी सङ्कलन गर्नेलगायत व्यवस्थापकीय काम गर्न भने बाँकी छ ।
माध्यमिक शिक्षा परीक्षा (एसइई)मा हरेक वर्ष सतप्रतिशत नतिजा दिँदै आएको विद्यालयले गत वर्षको १२ कक्षाको बोर्ड परीक्षामा विज्ञान सङ्कायतर्फ साविक धौलागिरि अञ्चलमा प्रथम स्थान हासिल गर्न सफल भएको थियो । विसं २०८३ सम्म दुई हजार विद्यार्थी सङ्ख्या पु¥याउने लक्ष्य लिएको विद्यालयले अङ्ग्रेजी माध्यममा अध्यापन गराउने आन्तरिक स्रोतका शिक्षकको व्यवस्थापनमा आर्थिक समस्या झेल्दै आएको छ । विद्यालयमा कक्षा १० सम्म अध्यापन गराउने राहत, करार र आन्तरिक स्रोतका शिक्षकको सङ्ख्या २० रहेको छ ।