काठमाडौं— शुक्रबार बिहानदेखिको निरन्तर वर्षाले मुलुकभर जनजीवन प्रभावित भएको छ। दशैँको चहलपहल सुरु भइसकेका बेला देशभर एकैसाथ वर्षा भएपछि मानिसको आवागमन प्रभावित भएको छ। देशका विभिन्न भागमा बाढीपहिरो र डुबानको त्रास बढेको छ। 

जल तथा मौसम विज्ञान विभागका अनुसार शुक्रबार देशका अधिकांश स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भएको छ। कोशी, वाग्मती र लुम्बिनी प्रदेशका कतिपय ठाउँमा धेरै भारी र अति भारी वर्षासमेत भएको छ। विभागले १० मिलिमिटरभन्दा कमलाई हल्का वर्षा, १० देखि ५० मिलिमिटरसम्मलाई मध्यम वर्षा, ५० देखि १०० मिलिमिटरसम्मलाई भारी वर्षाका रूपमा लिने गरेको छ। १०० देखि २०० मिलिमिटरसम्मलाई धेरै भारी वर्षा र त्यसभन्दा बढीलाई अति भारी वर्षा मानिन्छ।

OM Sai Pathibhara Hospital

शुक्रबार राति ९ बजेको तथ्यांकअनुसार पछिल्लो २४ घण्टामा सबैभन्दा बढी झापामा २९९ मिलिमिटरसम्म वर्षा मापन भएको छ। झापाकै केचनामा २२८, चन्द्रगढीमा २९८, बिर्तामोडमा २५३, गौरादहमा २४३ मिलिमिटर वर्षा मापन गरिएको छ। इलाममा १५९ मिलिमिटर, विराटनगरमा १६९, सप्तरीमा १५५ र बारामा १४६ मिलिमिटर वर्षा भएको छ। त्यस्तै, चितवनमा १५८, नवलपरासीमा १७३, भैरहवामा १५४, कपिलवस्तुमा १४९, गुल्मीमा १५१, पाल्पामा २६७ र धनगढीमा १०४ मिलिमिटर वर्षा भएको छ। 

कहाँ कति पानी पर्‍यो हेर्न यो लिंकमा क्लिक गर्नुहोस्

अविरल वर्षाका कारण दर्जनौं नदीमा जल सतह जोखिमपूर्ण अवस्थामा पुगेको छ। काठमाडौं उपत्यकामा वाग्मती नदीले पनि खतराको पार गरेको छ। विष्णुमती, धोबीखोला, ललितपुरको कर्मानासा, भक्तपुरको हनुमन्ते खोलामा पनि पानीको सतह बढेको छ। जल मापन केन्द्र खोकना, गौरीघाट, बल्खु खोला, बलम्बु, विष्णुमती र गोंगबु बसपार्कमा पानीले जल सतह सतर्कताको तह पार गरेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

नदी तटीय क्षेत्रमा यात्रा नगर्न र उच्च सतर्कता अपनाउन विभागले आह्वान गरेको छ। अविरल वर्षाका कारण मकवानपुरको कुलेखानी जलाशय भरिन लागेको भन्दै जिल्ला प्रशासनले सतर्क रहन तटीय क्षेत्रका बासिन्दालाई आग्रह गरेको छ। कुलेखानीमा जलाशय भरिएर जुनसुकै बेला बाँधका ढोका खोल्नुपर्ने स्थिति रहेको प्रशासनले जनाएको छ।

संघीय राजधानी भित्रिने पृथ्वी राजमार्ग दर्जनौं ठाउँमा खसेको पहिरोका कारण अवरुद्ध भएको छ। मुलुकका अरू दर्जनौं सडकमा पहिरोले आवागमनमा समस्या भएको छ। पहिरोले सडक अवरुद्ध हुँदा सयौं यात्रु बाटामै अलपत्र परेका छन्। सडक अवरुद्ध भएको ठाउँमा पहिरो पन्छाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले देशभरका ५६ जिल्लामा वर्षाका कारण बाढीपहिरोको उच्च जोखिम रहेको भन्दै बिहीबार नै सतर्क गराएको थियो भने आइतबारसम्म भारी वर्षा हुने भएकाले त्यतिन्जेल रात्रि बस नचलाउन आग्रह गरेको थियो।

शनिबार र आइतबार पनि मुलुकका अधिकांश भागमा वर्षा हुने र आइतबार मध्याह्नपछि मात्र कम हुँदै जाने विभागको पूर्वानुमान छ। विभागका अनुसार शनिबार कोशी, मधेश, वाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका धेरै स्थान तथा सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

वाग्मती, गण्डकी र लुम्बिनीका केही स्थानमा भारीदेखि अति भारी वर्षा हुने अनुमान छ। मौसमविद् मदन सिग्देलका अनुसार देशभित्रै विकास भएको मनसुनी वायुको प्रभाव र भारतको मध्यप्रदेश तथा आसपास क्षेत्रमा विकसित न्यून चापीय प्रणालीको प्रभावका कारण देशभर एकसाथ वर्षा भएको हो।