काठमाडौं— खाद्य व्यवस्था तथा व्यापार कम्पनीले बिहीबारदेखि चाडपर्वलाई लक्षित गरेर सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ । कम्पनीले अति आवश्यकीय खाद्यवस्तुमा उपभोक्तालाई राहत दिने उद्देश्यसहित विशेष छुट गरेर सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको हो । कम्पनीले बिहीबारबाट सञ्चालनमा ल्याएको सुपथ मूल्य पसल उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदार भण्डारीले उद्घाटन गर्नुभयो । विगतका वर्षभन्दा सात दिनअगाडि सञ्चालनमा ल्याएको सुपथ मूल्य पसलबाट खाद्य कम्पनीले ५० हजार क्विन्टल खाद्यवस्तु बिक्री गर्ने लक्ष्य राखेको छ । 

कम्पनीले दाल, चामल, गेडागुडी कर्णालीका रैथाने उत्पादन, तेल, घिउसहित ५० हजार क्विन्टल खाद्यवस्तु बिक्री गरेको जनाएको छ । कम्पनीका अनुसार विभिन्न प्रकारका चामल र दालमा प्रतिकेजी पाँच रुपियाँ छुटको व्यवस्था गरेको छ । यस्तै विभिन्न प्रकारका तेल, गेडागुडी, पिठो, मैदा, चिउरा, चिनी, क्वाँटीमा प्रतिकेजी सात रुपियाँ तथा कर्णालीका विभिन्न गेडागुडी, फापर दाना, चिनो, कागुनोलगायतमा पनि प्रतिकेजी सात रुपियाँ छुटको व्यवस्था गरेको छ । 

OM Sai Pathibhara Hospital

काठमाडौँ उपत्यकाका चार स्थान (थापाथली, रामशाहपथ, नक्खु र सूर्यविनायक) सहित ४२ जिल्लाका ६३ स्थानमा कम्पनीका बिक्री कक्ष राखिएका छन् । सहुलियत मूल्य पसल माघ २ सम्म सञ्चालन हुने छन् । यसका लागि सरकारले तीन करोड बजेट विनियोजन गरेको छ । 

कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश आचार्यले नेपालीका प्रमुख चाड दशैँतिहार, छठसम्म दैनिक उपभोग्य वस्तुको माग अत्यधिक हुने गरेको तर बजार मूल्य अस्वाभाविक रूपमा बढ्न सक्ने अवस्था रहेकाले सुपथ मूल्य पसल सञ्चालन गरेको जानकारी दिए । उनका अनुसार कम्पनीले बिक्री केन्द्रसम्म पहुँच नभएका उपभोक्ताका लागि अनलाइन अर्डरमार्फत होम डेलिभरीको व्यवस्था पनि गरेको छ । 

यसैबिच दशैँमा सरकारले १० रुपियाँ छुटसहित एक हजार आठ सय खसीबोका र च्याङ्ग्रा बिक्रीवितरण गर्ने तयारी गरेको छ । कम्पनीले दशैँका लागि जिउँदो खसीबोका र च्याङ्ग्रामा प्रतिकिलो १० रुपियाँ छुट दिने निर्णय गरेको हो । मकवानपुर, तुलसीपुर, मुस्ताङलगायत उपत्यका आसपासका क्षेत्रबाट ल्याइएका यी खसीबोका र च्याङ्ग्रा प्रादेशिक कार्यालय थापाथली, काठमाडौँ परिसरबाट खरिद गर्न सकिने कम्पनीको भनाइ छ ।

सुपथ मूल्य पसल उद्घाटन गर्दै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदार भण्डारीले कम्पनीबाट सञ्चालन हुने सुपथ मूल्य पसल देशका ७७ जिल्ला र ७५३ पालिकासम्म विस्तार गर्नुपर्ने बताएका छन् । कम्पनीसँग भएको स्रोतसाधन र जनशक्तिलाई परिचालन गरेर सुपथ मूल्य पसल पालिकास्तरसम्म विस्तार गर्न सकियो भने कम्पनीको आफ्नै व्यापार विस्तार हुने उनले बताए । 

मन्त्री भण्डारीले कम्पनीले यो वर्ष सम्भव नभए पनि आगामी वर्षदेखि खाद्य कम्पनीले आफ्नो उपस्थिति पालिकासम्म पुग्ने गरी योजना बनाउनुपर्ने बताए । 

कम्पनीका अध्यक्ष एवं उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव गोविन्दबहादुर कार्कीले खाद्य कम्पनीले सुरु गरेको सुपथ मूल्य पसलबाट सबैले राहत पाउनुपर्ने बताए । कम्पनीले सीमित ठाउँमा सञ्चालन गरेको सुपथ मूल्य पसलमा सबैको पहुँच नहुने भएकाले अनलाइन अर्डर र होम डेलिभरीलाई व्यवस्थित गरेर सबैलाई सर्वसुलभ रूपमा खाद्यवस्तु उपलब्ध गराउने व्यवस्था गरिने बताए । 

कम्पनीका प्रमुख कार्यकारी अधिकृत आचार्यले कम्पनीको सीमित भौतिक पूर्वाधार, जनशक्ति, आर्थिक स्रोतसाधनको सीमितताका कारण सबै जिल्ला तथा पालिकामा चाडपर्वलक्षित सुपथ पसल सञ्चालनमा सरकारको उपस्थिति देखाउनु तत्कालका लागि चुनौतीपूर्ण रहेको बताएका छन् । 

कम्पनीका अनुसार उक्त चामल उपभोग गर्दा पौष्टिक तत्वको कमी हुनबाट बचाई बालबालिका तथा वयस्कलाई समेत शारीरिक तथा मानसिक वृद्धि विकासमा सहयोग पुग्ने दाबी गरिएको छ ।