काठमाडौं- नेपालमा आर्थिक वर्ष २०८०/०८१ मा ७ हजार २२३ जनाले आत्महत्या गरेका छन् ।

विश्व आत्महत्या रोकथाम दिवसको उपलक्ष्यमा आज काठमाडौंमा आयोजित कार्यक्रममा सो तथ्यांकबारे जानकारी गराइएको हो । 

OM Sai Pathibhara Hospital

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. यदुचन्द्र घिमिरेले नेपालको हकमा गत आर्थिक वर्ष २०८०/०८१ मा ७ हजार २२३ जनाले आत्महत्या गरेको बताए । 

नेपालमा सरदर दिनमा २० जनाले आत्महत्या गर्ने गरेको तथ्यांकले देखाएको छ । एसडिजीको लक्ष्य ४.७ मा झार्ने भएपनि नेपालमा आत्महत्याको दर झनै बढ्दै गएकोप्रति निर्देशक धिमिरेले चिन्ता व्यक्त गरे । 

नेपालमा वयस्कमा ६.५ प्रतिशत र ३.९ प्रतिशत किशोरकिशोरीले आत्महत्या गर्ने सोच राख्ने गरेको र १५ देखि ४५ वर्षका प्रजजन उमेर समूहका महिलाहरुको मृत्युको पहिलो कारण आत्महत्या रहेको छ । 

आत्महत्याका धेरै कारणहरुमध्ये बायोलोजिकल, मानसिक रोग, फिजिकल, साइकोसोसियल, साइकोलोजिकल कारण छन् । त्यस्तै सामाजिक, सांस्कृतिक र आर्थिक कारणले पनि आत्महत्या गर्ने गरेको घिमिरेले बताए । 

उनले भने, ‘आत्महत्याका धेरै कारणहरु छन् । सबै व्यक्तिमा एउटै कारण त हुन्न । तर मुख्य कारणहरु हेर्दा बायोलोजिकल कुराहरु, मानसिक रोगका कुराहरु पनि छन् । फिजिकल, साइकोसोसियल, साइकोलोजिकल कारण पनि छन् । सामाजिक र सांस्कृतिक कारणहरु पनि छन् । आर्थिक कारणले पनि धेरैले आत्महत्या गरेका छन् ।’

विश्वमा मृत्युका कारणहरुमध्ये आत्महत्या १५ औं कारणमा पर्दछ ।  विश्वमा वार्षिक ७ लाख मानिसको आत्महत्याका कारणले मृत्यु हुने गरेको तथ्यांक रहेको छ । 

यस्तै विश्वमा हरेक ४० सेकेण्डमा एक जनाले आत्महत्या गर्दछन् भने ७७ प्रतिशत आत्महत्याका घटना अति कम र मध्यम आर्थिक अवस्था भएका देशमा हुने गरेको तथ्यांक छ । 

त्यसमध्ये पनि साउथ इस्ट एशियामा मात्रै ३९ प्रतिशत रहेको छ । यस वर्ष ‘आत्महत्या दिवसबारे संवाद शुरु गरौँ, दृष्टिकोण बदलाँै भन्ने नारासहित’ विश्व आत्महत्या रोकथाम दिवस मनाइएको छ ।