काठमाडौं–गएराति खोटाङको ऐंसेलुखर्क गाउँपालिका–३ मा परेको चट्याङका कारण तीनजना गम्भीर घाइते भएका छन् । पातेलका मोहन भुजेलका २१ वर्षीय छोरा डेनिस भुजेल‚ दुर्गानाथ भुजेलकी ६ वर्षीया छोरी अनिसा भुजेल‚ र ओडारेका टेकबहादुर दर्जीकी १५ वर्षीया छोरी समीक्षा दर्जी चट्याङको चपेटामा परेका हुन् । 

डेनिस र अनिसा आफ्नै घरमा र समीक्षा आफ्नो घरमा बसिरहेको समयमा चट्याङले उनीहरूलाई गम्भीर घाइते बनाएको हो । बेहोस भएका तीनैजनालाई प्राथमिक स्वास्थ्य केन्द्र ऐंसेलुखर्कमा उपचार भइरहेको छ । प्रहरी निरीक्षक हरि बरालका अनुसार तीनैजनाको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको छ र उनीहरू खतरामुक्त छन् । चट्याङले विद्युतीय सामग्रीमा पनि ठूलो क्षति गरेको छ ।