पाँचथर- पाँचथरमा दुई बालबालिकाको ज्यानजाने गरी भएको बिस्फोटको घटनाप्रति राष्टिय मानव अधिकार आयोगले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । 

आयोगले आज एक विज्ञप्ति जारी गर्दै बालबालिकाको ज्यान जाने गरी भएको उक्त घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

OM Sai Pathibhara Hospital

पाँचथरको फालेलुङ्ग गाउँपालिका- ५ डाँडागाउँस्थित आइतराज केरुङको घरमा विस्फोट हुँदा ११ वर्षीय दिप्सन साँवा र दुई वर्षीया प्रिन्सा साँवाको मृत्यु भएको थियो । 

विष्फोटमा १० वर्षीय पवन राई र ७ वर्षीय दिपशन राई घाइते भएका छन् । उनीहरुको उपचार भइरहेको छ । 

घटनाको कोशी प्रदेश कार्यालय मार्फत अनुगमन गरिरहेको उल्लेख गर्दै आयोगले घाइतेको निःशुल्क र प्रभावकारी उपचारको व्यवस्था मिलाउन, तथा घाइते तथा मृतकका परिवारलाई क्षतिपूर्तिको व्यवस्था गर्न सरकारलाई भनेको छ । 

जथाभाबी छोडिएका यस्ता विस्फोटक पदार्थहरू निष्क्रिय पारी पुनः यस प्रकारका घटना दोहोरिन नदिन आयोगले सरकारलाई सचेत गराएको छ । 

उक्त विष्फोटक पदार्थ द्वन्द्वकालमा जथाभावी छाडिएका विष्फोटक पदार्थ हुन सक्ने आयोगले उल्लेख गरेको छ ।