काठमाडौं–काठमाडौंमा नाबालिकाहरूलाई वेश्यावृत्तिमा लगाएको अभियोगमा २ जना गेष्टहाउस सञ्चालक पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका–३२ कोटेश्वरस्थित कमलामाई खाजाघर एण्ड गेस्ट हाउसका संचालक रामेछाप घर भएका २८ वर्षीय गोरे नेवा खड्गी र सिन्धुली कमला माई नगरपालिका–४ घर भएका ४२ वर्षीय राजु साहीलाई प्रहरीले पक्राउ गरेको छ ।

उनीहरूले सञ्चालन गरेको उक्त गेष्टहाउसमा बालिकाहरूलाई वेश्यावृत्तिमा लगाउने गरेको भन्ने सूचनाको आधारमा मानव बेचबिखन अनुसन्धान व्यूरो बबरमहलबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । साथै प्रहरीले गेष्टहाउसबाट ५ जना बालिकाहरूलाई उद्दार समेत गरेको छ । उनीहरूविरुद्ध जिल्ला अदालत काठमाडौंबाट म्याद थप अनुमति लिई मानव बेचबिखन तथा ओसारपसार मुद्दामा आवश्यक अनुसन्धान भइरहेको छ ।