काठमाडौं–सरकारले एकनारायण अर्याललाई मुख्यसचिवमा नियुक्त गरेको छ । मन्त्रिपरिषद्को बैठकले गृह सचिव अर्याललाई भदौ १६ गतेदेखि लागू हुने गरी मुख्यसचिवमा नियुक्त गरेको हो ।

नयाँ नियुक्त मुख्यसचिव अर्याललाई बधाई दिँदै प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई सेवा डेलिभरी दिन‚ विकास आयोजनालाई अगाडि बढाउन र सुशासन कायम गर्न कर्मचारी प्रशासन चुस्त हुनुपर्ने बताएका छन् । प्रधानमन्त्री ओलीले सरकारले नीतिगत नेतृत्व मात्र गर्ने भन्दै कार्यान्वयनको जिम्मेवारी कर्मचारी प्रशासनको काँधमा रहेको उल्लेख गरेका छन् ।

OM Sai Pathibhara Hospital

प्रधानमन्त्री ओलीले हरेक निकायका अधिकारीलाई आफ्नो कामप्रति जवाफदेही बनाउन र नागरिकका गुनासा तत्काल सम्बोधन गर्नुपर्नेमा जोड दिएका हुन् । उनले यसका लागि हरेक निकायका अधिकारीले सामाजिक सञ्जालमा आ–आफ्नो कामको विवरण दिने पेज बनाउनुपर्ने सुझाव दिएका छन् ।

प्रधानमन्त्री ओलीले सवारी चालक अनुमतिपत्र‚ अस्पतालमा सेवा लिन‚ नागरिकता‚ पासपोर्ट लिन किन लाइन बस्नु पर्छ‚ विकास निर्माणका आयोजनाहरू किन ढिलाइ भइरहेका छन् भन्ने प्रश्नको जवाफ सम्बन्धित अधिकारीले तत्काल दिन सक्ने प्रणाली विकास गर्नुपर्ने बताए ।

ओलीले करिब चार लाख रहेका राष्ट्रसेवक कर्मचारीलाई कार्यसम्पादनमा उत्कृष्टता हासिल गर्न आग्रह गर्दै यसले नागरिकमा सन्तुष्टि ल्याउने र देशको विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरेका छन् ।


PM Snadesh