काठमाडौं–पाँचथरको फालेलुङ गाउँपालिका–५ मा बिहीबार साँझ भएको बम विस्फोटमा परी २ वर्षीया बालिका प्रिन्सा साँवाको मृत्यु भएको छ । विस्फोटमा परी घाइते प्रिन्साको झापाको बीएन्डसी अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो ।

घटनाका ११ वर्षीय‚ दिपशन साँवा गम्भीर घाइते छन् । दिपशनलाई थप उपचारका लागि झापाको बीएन्डसी अस्पतालमा रेफर गरिएको छ । सामान्य घाइते ११ वर्षीय‚ पबन राई र ७ वर्षीय दिपशन राईको पनि क्रमश: जिल्ला अस्पताल पाँचथर र स्थानीय स्वास्थ्य चौकी प्राङबुङमा उपचार भइरहेको छ ।

OM Sai Pathibhara Hospital

विस्फोट माओवादी कार्यकर्ता आइतराज केरुङको घरमा घरमा भएको थियो । केरुङको त्यस घरमा स्थानीय ज्ञानबहादुरको परिवार बस्दै आएको थियो ।सुरक्षा निकायले यसलाई ‘होममेड ग्रिनेट’ को विस्फोट भएको अनुमान गरेको छ । घटनास्थलमा फेला परेको अन्य शंकास्पद वस्तुको पुष्टि गर्न नेपाली सेनाको टोलीलाई खटाइएको छ । 

माओवादीको संगठन फाँटमा लामो समय काम गरेका घरधनी केरुङले विस्फोट घटनाले आफू स्तब्ध भएको बताएका छन् । स्थानीयले द्वन्द्वका समयमा माओवादीले लुकाएर राखेको बम पड्केको भनेका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।